सुनसरीको बराहक्षेत्र नगरपालिकाका पूर्व नगर प्रमुख दिवंगत निलम खनालको स्मृतिमा अन्तर क्याम्पस फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
बराहक्षेत्र-६ स्थित सप्तकोसी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गर्न लागेको ‘प्रथम निलम खनाल स्मृति अन्तर क्याम्पस फुटबल टुर्नामेन्ट-२०८१’ आगामी फागुन १६ गतेदेखि आयोजना हुन लागेको हो ।

प्रतियोगितामा सप्तकोसी बहुमुखी क्याम्पसका दुई टिम, इटहरीको जनता बहुमुखी क्याम्पससहित आठ टिमले सहभागिता जनाउने स्ववियु सदस्य सुदीप थापाले जानकारी दिए । उद्घाटन खेलमा सप्तकोसी क्याम्पसको टिम ए र सरस्वती मावि बराहक्षेत्र-९ भिड्ने छन् ।
यस्तै फागुन १७ गते सप्तकोसी क्याम्पसको टिम बी र महेन्द्र मावि तित्रीगाछी साथै मुनबिम एकेडेमी बराहक्षेत्र-५ र जनता बहुमुखी क्याम्पस इटहरीबीच खेल हुनेछ । फागुन १८ गते जीवनज्योति स्कुल र आदर्श मावि भिड्नेछन् ।
प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँसगित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकको भनाइ छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम बस्नेत) ले गर्ने कार्यक्रम रहेको छ ।
खेल प्रत्येक बिहान ७ बजेदेखि हुनेछ । बराहक्षेत्र-७ स्थित जङ्गी चोक खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल फागुन २१ गते हुनेछ ।




