वर्षायाममा खाल्डाखुल्डीले मृत्युको मुखमा पुगेको सडक, १७–२० वर्षका युवाहरूको सक्रियतामा बिहानैदेखि मर्मत अभियान

कालाबन्जार, (हाम्रो संवाददाता) — पकली–चतरा सडकखण्डअन्तर्गत बराहक्षेत्र–५ को मुख्य व्यापारिक केन्द्र कालाबन्जारस्थित दुर्गा मन्दिर अगाडि शुक्रबार बिहानैदेखि युवाको असामान्य उपस्थितिले स्थानीयवासीदेखि आगन्तुकसम्मको ध्यान तानेको छ। कतिलाई त केही अप्रिय घटना घटेको आशंका पनि भयो, तर यो भिड थियो — एक अभूतपूर्व नागरिक अभियानको।
वर्षायाम सुरु भएपछि यस मुख्य सडकको अवस्था दयनीय बनेको थियो। अविरल वर्षाका कारण सडकमा गहिरा–गहिरा खाल्डाखुल्डी बनेका थिए, जसले सवारी साधन गुड्न मुश्किल मात्र थिएन, बरु पैदल यात्रीदेखि चालकसम्मको ज्यान जोखिममा थियो। साना बालबालिका र वृद्धवृद्धाहरू झर्ने, मोटरसाइकल फिस्लिने र एम्बुलेन्ससम्म आउन नसक्ने अवस्था सिर्जना भएपछि स्थानीय जनता आक्रोशित भएका थिए। पटक–पटक स्थानीय वडा कार्यालय, नगरपालिका र सडक विभागलाई ज्ञापनपत्र बुझाइयो, पूर्वी पहिलो खबर लगायतका सञ्चारमाध्यममा समाचार प्रकाशित गराइयो, तर सरोकारवाला निकायले **चासो नदेखाएपछि** विकल्पविहीन भएका स्थानीय युवाहरू आफैँ अगाडि सरेका हुन्।

सो अभियानको नेतृत्व गरेका छन् — स्थानीय युवा अगुवा सन्दिप राउतले। उनको आह्वानमा सोमबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको ‘सडक मर्मत अभियान’ शुक्रबार ३,४ बजेदेखि नै मूर्त रूप लिन थाल्यो। हातमा कोदाली, बेल्चा, सिमेन्ट, बालुवा र गिट्टीका बोरा बोकेर, व्यवसाय गर्ने र विभिन्न पेसामा आबद्ध १७ देखि २० वर्ष उमेर समूहका युवाहरू सडकमा उत्रिए। अभियानमा प्रज्वल गुरागाईं, राज विष्ट, सन्देश चौधरी, शुभम श्रेष्ठ, सरुण चौधरी, सञ्जय राजधामी, आयुष राजधामी, निकेश बस्नेत र गग्या गिरीको सक्रिय सहभागिता रहेको थियो।
युवाहरूले सबैभन्दा पहिले खाल्डोभित्र जमेको फोहोर, पानी र हिलो सफा गरे। त्यसपछि स्थानीय व्यवसायी तथा सञ्चारकर्मी प्रदीप बासमैतले उपलब्ध गराएको आर्थिक सहयोग र सामग्री प्रयोग गरी सिमेन्ट, बालुवा र गिट्टीको मिश्रण तयार पारी खाल्डाखुल्डी पुर्ने काम थाले। उनीहरूले तातो घाम र माटोको धुलो वास्ता नगरी निरन्तर परिश्रम गरे। यस क्रममा उनीहरूलाई स्थानीय पसले पानी र खाजाको समेत सहयोग गरेका थिए।

यस ऐतिहासिक अभियानका लागि विभिन्न व्यवसायी र स्थानीयवासीले उल्लेखनीय सहयोग पुर्याएका छन्। प्रवेश गुरागाईंले २ बोरा सिमेन्ट उपलब्ध गराए भने समीर श्रेष्ठ र रविन खड्काले एक–एक बोरा सिमेन्ट सहयोग गरे। सडक मर्मतका लागि सबैभन्दा महत्त्वपूर्ण सामग्री बालुवा र गिट्टी चन्द्र मैन आयल पेट्रोल सेन्टरले निःशुल्क उपलब्ध गराएको थियो। यस्तै, सौगत देवानले ९ बोरा गिट्टी र ५ सय रुपैयाँ नगद सहयोग गरी अभियानलाई थप बल पु¥याए। त्यस्तै, बराह स्केट जोन कालाबन्जारका सञ्चालक राजेश राजधामीले १ हजार रुपैयाँ नगद सहयोग प्रदान गरे। यी सहयोगले अभियानलाई सहज बनाएको थियो।
स्थानीय बासिन्दा माधव अधिकारीले भने, “हामीले यी युवाहरूलको लगनशीलता देखेर निकै पीडा महसुस गरेका छौं। जसको काम हो, त्यसैले गर्नुपर्ने, तर उनीहरू आफैंले हात कालो पारेर बाटो बनाउनु परेको छ। यो त निकायहरूको विफलता हो।” अर्की स्थानीय महिला गीता राईले भने, “हिजोसम्म यहाँबाट हिँड्दा खाल्डोमा पुगेर लड्ने डर थियो, आज बिहानै यी युवाहरूलेल खाल्डो पुरिदिएपछि मनमा ढुक्क भएको छ।”
अभियान कर्ता सन्दिप राउतले भने, “हामीले स्थानीय प्रशासन र गाउँपालिकालाई पटक–पटक अनुरोध गर्यौं, तर हाम्रो आवाज सुनुवाइ भएन। जब जनधनको जोखिम बढ्यो, हामीले पर्खनुको विकल्प नदेखेर आफैँ अगाडि बढ्यौं। हामी यहाँ कसैलाई विरोध गर्न आएका होइनौं, तर सरकारी निकायलाई जिम्मेवारी सम्झाउन आएका हौं। यो सडकको दिगो मर्मत र नियमित हेरचाह अब सरकारले नै गर्नुपर्छ।”

यस अभियानले कालाबन्जार क्षेत्रका जनतामा मात्र नभई सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ। धेरैले यसलाई ‘सामुदायिक एकता र नागरिक चेतनाको ज्वलन्त उदाहरण’ भनेका छन् भने कतिपयले यसलाई ‘स्थानीय सरकार र सडक विभागको निद्रालु स्वभावको करारा आलोचना’ को रूपमा पनि व्याख्या गरेका छन्।
सो अभियान सकिएलगत्तै युवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बराहक्षेत्र नगरपालिका, वडा कार्यालय र सडक विभागलाई आग्रह गरेका छन् — “हामीले आज जस्तो स्वस्फूर्त अभियान चलायौं, तर यो दिगो समाधान होइन। कृपया, गुणस्तरीय ढलान, पानी निकासको उचित व्यवस्था र नियमित अनुगमन गरेर यस मुख्य सडकलाई ज्यान जाने बाटोबाट मुक्त गर्नुहोस्।” उनीहरूले चाँडै नै नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाउने तयारी पनि गरेका छन्।
अन्त्यमा, यो अभियानले एउटा महत्त्वपूर्ण प्रश्न खडा गरेको छ — के जनताले कर तिरेको सरकारलाई आफ्नो काम गर्नका लागि युवाहरूले हातमा सिमेन्ट र कोदाली लिएर सन्देश दिनुपर्ने बाध्यता आउनु सामान्य हो त ? यद्यपि, कालाबन्जारका यी युवाहरूले समाजमा सकारात्मक परिवर्तनको बिजारोपण गरेका छन्, जसको परिणाम स्वरूप आगामी दिनमा सरकारी निकायहरूले आफ्नो कर्तव्य बिर्सने छाँटकाँट गर्ने छैनन् भन्ने स्थानीयवासीले विश्वास लिएका छन्।