Homeगृहपृष्ठपाँचथरमा लागूऔषधको बढ्दो जालो : पाँच वर्षमा ४० मुद्दा, १०० जना पक्राउ...

पाँचथरमा लागूऔषधको बढ्दो जालो : पाँच वर्षमा ४० मुद्दा, १०० जना पक्राउ RD Creation


पाँचथर  । पहाडी जिल्ला पाँचथर कुनै समय शान्त र सुरक्षित जिल्लाका रूपमा चिनिन्थ्यो। तर पछिल्ला केही वर्षयता लागूऔषधको कारोबार र प्रयोगले जिल्लाको सामाजिक परिवेशमा नयाँ चुनौती थपेको छ। प्रहरीको तथ्यांकले लागूऔषध अब सीमित समस्या नभई विस्तारै समुदाय र विशेषगरी युवापुस्तासम्म पुग्न थालेको संकेत गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८३ वैशाखसम्म लागूऔषध सम्बन्धी ४० वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा १०० जना पक्राउ परेका छन्। प्रहरीले ३२ ग्रामभन्दा बढी ब्राउन सुगर, ३३४ वटा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल, १८ वटा स्पास्पेन ट्याब्लेट र एक किलो गाँजा बरामद गरेको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ७ वटा मुद्दामा २९ जना पक्राउ परेका थिए। त्यसपछि २०८०/८१ मा १० वटा मुद्दामा १६ जना, २०८१/८२ मा ९ वटा मुद्दामा १६ जना, २०८२/८३ मा ९ वटा मुद्दामा २६ जना तथा चालु आर्थिक वर्षको वैशाखसम्म ५ वटा मुद्दामा १३ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार लागूऔषध नियन्त्रण अहिले प्रहरीको प्रमुख प्राथमिकतामध्ये एक हो। उनका अनुसार पछिल्ला वर्षहरूमा प्रहरीले सवारी साधन जाँच, शंकास्पद गतिविधिमाथि निगरानी, सूचनाका आधारमा अपरेसन तथा सीमावर्ती जिल्लासँग समन्वय गरेर नियन्त्रण अभियानलाई तीव्र बनाएको छ।

“लागुऔषधविरुद्ध प्रहरीले कुनै सम्झौता गर्दैन। पक्राउ संख्या बढ्नु हाम्रो सक्रिय कारबाहीको परिणाम पनि हो। तर लागूऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी होइन। परिवार, विद्यालय, स्थानीय सरकार र समुदाय सबै सचेत भए मात्रै यसको प्रभावकारी नियन्त्रण सम्भव हुन्छ,” डिएसपी कर्णले बताए।

उनका अनुसार पछिल्लो समय विशेषगरी ब्राउन सुगर र ट्रामाडोल जस्ता लागूऔषध जिल्लामा भित्रिने क्रम देखिएको छ। युवालाई प्रयोगकर्ता र बोकुवाका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेकाले अभिभावकले आफ्ना बालबालिकाको संगत, व्यवहार र गतिविधिमाथि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए।

लागुऔषधको लतले व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारी र पारिवारिक सम्बन्धमा गम्भीर असर पार्ने मात्र होइन, चोरी, हिंसा र अन्य आपराधिक गतिविधिलाई समेत बढावा दिने गरेको सुरक्षा अधिकारीहरू बताउँछन्। त्यसैले लागूऔषध नियन्त्रणलाई कानुनी कारबाहीसँगै सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

शान्त जिल्ला मानिने पाँचथरमा पछिल्ला पाँच वर्षको तथ्यांकले दिएको संकेत स्पष्ट छ । लागुऔषध अब टाढाको समस्या होइन। समयमै सचेतना, कडा निगरानी र सामूहिक प्रयास हुन सकेन भने यो समस्या अझ गम्भीर बन्दै जाने खतरा रहेको प्रहरीको निष्कर्ष छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments