Sunday, April 19, 2026
spot_img
HomeEnglish Newsभारतीय गाडीको अस्थायी भन्सार पास अब पोखराबाटै

भारतीय गाडीको अस्थायी भन्सार पास अब पोखराबाटै

भारतीय गाडीहरूको अस्थायी भन्सार अबदेखि पोखराबाटै हुने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयबाटै अब भारतीय गाडीहरूको अस्थायी भन्सार म्याद थप हुने भएको हो।

भारतीय गाडीहरू पोखरा आएका बेला भन्सार अवधि सकिएको अवस्थामा उनीहरुलाई अस्थायी भन्सार म्याद थप गर्न सकिने व्यवस्था गरिएको भन्सार एजेन्ट संघ कास्कीले जनाएको छ।

संघले भन्यो, ‘पोखराबाटै गाडीको म्याद थप गर्ने व्यवस्था भइसकेको छ। सम्पूर्ण प्रक्रिया टुङ्गिइसकेको छ। अब एजेन्टहरूले आइडी र पासवर्ड पाउने बित्तिकै त्यो काम सुरु हुन्छ। त्यसका लागि दुई/तीन दिन लाग्ला।’

यसअघि पोखराबाट स्थायी वा अस्थायी दुवै किसिमबाट भारतीय गाडीको भन्सार म्याद थप गर्न नसकिने अवस्था थियो। जसले गर्दा अस्थायी पैठारी गरेर पर्यटक बोकेर आएका भारतीय गाडीहरू समस्यामा पर्ने गरेका थिए।

पोखरा आएका बेला म्याद सकिएको खण्डमा ती गाडीहरू भन्सार अवधि थप गर्न भैरहवालगायतका तराईका भन्सार नाका धाउनुपर्ने बाध्यता थियो।

पोखराबाटै अस्थायी भन्सार पास थप्न मिल्ने भएपछि अब पोखरामा भारतीय पर्यटकको बसाई लम्बिने विश्वास व्यक्त गरिएको छ।

भन्सार एजेन्ट संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सागर भण्डारीले पोखराबाटै अस्थायी भन्सार पास हुनु स्वागतयोग्य भएको बताए। यसले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पार्ने र भारतीय पर्यटकको बसाई पनि लम्बिने बताए।

उनले भने, ‘पर्यटक बोकेर पोखरा आएका गाडीहरू म्याद सकिएपछि हतार हतार फर्किनुपर्ने बाध्यता हट्नेछ। जसले गर्दा पर्यटकको बसाई लम्बिन्छ र पोखराको पर्यटन थप गुलजार हुन्छ।’

समितिका कास्की अध्यक्ष सुमन तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्नको लागि पनि यसले सघाउने बताए।

भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचिनकुमार थैवले पोखरामा अस्थायी भन्सार नहुँदा भारतीय पर्यटक मारमा परेको भन्दै बारम्बार गुनासो आउने गरेको बताए। तर अब पोखराबाटै भारतीय गाडीको म्याद थपिन सक्ने भएकाले यो गुनासो कम आउने विश्वास व्यक्त गर्दै उनले भने, ‘यसले पोखरामा पर्यटकहरू धेरै दिनसम्म बस्ने वातावरण बन्नेछ। साथै भन्सार पास सकिएर हतार हतार तराईका भन्सार नाका धाउनुपर्ने बाध्यताकोपनि अन्त्य हुनेछ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गोसहितको भन्सार सञ्चालन गर्नुपर्ने पनि बताए। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गोसहितको भन्सार सुचारु हुनुपर्छ। यसका लागि हामी पहल गर्छौँ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत डिल्लीराम सुवेदीले यस भन्सारबाट हुने सेवालाई प्रभावकारी बनाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

भन्सार एजेन्ट महासंघका महासचिव भोलानाथ अर्यालले काठमाण्डौंमा कार्गोका डनहरू रहेको र उनीहरुले पोखरामा कार्गो ल्याउन नदिन सिन्डिकट लगाएको आरोप लगाए।

यसैबिच, राष्ट्रिय भन्सार एजेन्ट परिषद् पोखरा र भन्सार एजेन्ट महासंघ पोखराबिच मर्जर भई सुमन तिमिलसिनाको अध्यक्षतामा भन्सार एजेन्ट संघ कास्की गठन भएको छ।

हालै भएको दुई संघबीचको संयुक्त भेलाले तिमिल्सिनालाई मर्जरपछिको अध्यक्ष चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा सागर भण्डारी, उपाध्यक्षमा डी. आर लामिछाने, सचिवमा सुवास ढकाल र कोषाध्यक्ष सूर्यबहादुर थापा तथा सदस्यहरूमा सुजाता अधिकारी, सुवास लम्साल, बुद्ध तामाङ र अनिसा श्रेष्ठ चयन भएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८१ १९:०९ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments