Home गृहपृष्ठ विद्यालय शिक्षा ऐन जारी गर्न भन्दै  शिक्षा समन्वय इकाईमार्फत नेपाल सरकारलाई पत्र

विद्यालय शिक्षा ऐन जारी गर्न भन्दै  शिक्षा समन्वय इकाईमार्फत नेपाल सरकारलाई पत्र

0
विद्यालय शिक्षा ऐन जारी गर्न भन्दै  शिक्षा समन्वय इकाईमार्फत नेपाल सरकारलाई पत्र


मुगु। 

चालू हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा ऐन  जारी गरियोस् भन्दै शिक्षक महासङ्घले शिक्षा समन्वय इकाई मार्फत नेपाल सरकारलाई  शुक्रवार ध्यानाकर्षण पत्र बुझाएको छ ।

देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई ७ वटा मुख्यमन्त्री र ७ वटै सामाजिक विकासमन्त्री माफत सङ्घीय सरकारलाई बुझाउने गरी नेपाल शिक्षक महासंघका जिल्ला तथा प्रदेश समितिहरुले आज ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले  गत महिना २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र नेपाल शिक्षक महासंघ बिच विभिन्न समयमा भएका सहमति र सम्झौताहरुमा उल्लेखित मागहरू सहितको विद्यालय शिक्षा विधेयक संसदको चालू हिउँदे अधिवेशनबाट पारित गरी जारी गर्न महासंघका स्थानिय,जिल्ला र प्रदेश समितिहरुलाई  केन्द्रीय समितिले तोके बमोजिमका दबाबमूलक कार्यक्रम आयोजना गर्न निर्देशन भए बमोजिम शुक्रवार हातमा कालो पट्टि बाँधी खबरदारी जुलुस सहित समन्वय इकाई,मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक महासंघ मुगु समितिका सचिव मोहन कुमार मल्लले बताए ।

सचिव मल्लका अनुसार आजै जिल्ला तहमा र प्रदेश तहमा आन्दोलनलाई सशक्त,व्यवस्थित र मर्यादित बनाउन आन्दोलन परिचालन समिति समेत गठन गरिने छन् ।

आन्दोलनका कार्यक्रम अन्तरगत फाल्गुण ८ गते हरेक विद्यालयमा अभिभावक,विद्यालय व्यवस्थापन समिति र विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने,फाल्गुण ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा र ७ वटै प्रदेशका मुख्यमन्त्री,सामाजिक विकास मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने,कालो पट्टि सहित बृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिति गठन गर्ने कार्यक्रम तालिका थियो ।

देश सङ्घीयतामा गएपनी शिक्षा क्षेत्र भने पञ्चायत कालिक समयमा बनाइएको शिक्षा ऐन २०२८ बमोजिम नै चलिरहेको छ । कति चोटि संशोधन गर्दै चलाउने  संघियताको मर्म र युग सुहाउँदो ऐन बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यकता रहेकाले चालू हिउँदे अधिवेशनबाट शिक्षा ऐन  पास गरी कार्यान्वयनमा ल्याउन सरकार समक्ष माग गर्दछौ नेपाल शिक्षक महासंघ मुगुका अध्यक्ष विष्णुमाया भाम बताउँछन् ।