HomeEnglish Newsशेयरको भित्री कारोबारमा संलग्न छन् ट्रम्प ?

शेयरको भित्री कारोबारमा संलग्न छन् ट्रम्प ?

वासिङ्टन (अमेरिका) । गत बुधवार बिहान ९ः३७ बजे (अमेरिकी शेयर बजार खुल्नुअघि) राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरे, ‘यो स्टक किन्नका लागि राम्रो समय हो ! डिजेटी ।’ 

त्यसको चार घण्टा नबित्दै ट्रम्पले ट्रुथ सोसलमार्फत चीनबाहेकका देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगन गर्ने घोषणा गरे । 

उनको घोषणापछि शेयर बजार बढ्यो । दिनको कारोबारको अन्त्यसम्म नास्डेक सूचकांक लगभग १२ %, एस एन्ड पी ५०० ९.५% र डाउ जोन्स औद्योगिक औसत ८ % बढ्यो । 

ट्रम्पका आलोचकसमेत रहेका वकिल रिचार्ड पेन्टरले भने, ‘त्यो पोस्ट देखेपछि शेयर किनेका मानिसहरूले धेरै पैसा कमाए ।’ 

पारस्परिक भन्सार शुल्क स्थगित गर्नुअघि शेयर बजारलाई प्रभावित पार्ने पोस्ट गरेको भन्दै ट्रम्पका आलोचकहरूले उनीमाथि छानबिनको माग गरिरहेका छन् । 

हाउस फाइनान्सियल सर्भिस कमिटीका शीर्ष डेमोक्र्याट सांसद म्याक्सिन वाटर्सको नेतृत्वमा १९ हाउस डेमोक्र्याटको समूहले सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष पल एटकिन्सलाई पत्र पठाएर ट्रम्पमाथि इन्साइडर ट्रेडिङ र बजार हेरफेर गरेको आरोपको छानबिन गर्न अनुरोध गरेको छ । 

सिनेटर एलिजाबेथ वारेनले ट्रम्पको ट्रुथ सोसल पोस्ट अनुसन्धानका लागि पर्याप्त भएको तर्क गरेकी थिइन् । उनले यसबारे स्वतन्त्र अनुसन्धानको आवश्यकता रहेको बताइन् । 

तर, ह्वाइट हाउसले ट्रम्पले बजारमा धाँधली गरेको आरोप अस्वीकार गरेको छ । र, डेमोक्र्याटहरूमाथि ‘पक्षपातपूर्ण खेल खेलेको’ आरोप लगाएको छ ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको जिम्मेवारी भनेको बजार र अमेरिकीहरूको आर्थिक सुरक्षाको बारेमा आश्वस्त पार्नु हो ।’ 

डेमोक्र्याटहरूले दशकौंदेखि चीनको धोखाधडीको विरोध गर्दै आएको र अहिले उनीहरू राष्ट्रपति ट्रम्पको निर्णायक कदमको उत्सव मनाउनुको साटो पक्षपातपूर्ण खेल खेलिरहेको विज्ञप्तिमा उल्लेख छ । 

ट्रम्पले बजारमा चलखेल गर्न खोजेको वा उनी वा उनका कुनै पनि सल्लाहकार र सहयोगीले भित्री सूचनाका आधारमा काम गरेको भन्ने प्रमाण छैन । 

टेक्सासका सिनेटर जोन कोर्निनले राष्ट्रपति ट्रम्पको बचाउ गर्दै बजार हेरफेर वा इन्साइडर ट्रेडिङको आरोपलाई खण्डन गर्दै भने, ‘उनीहरूले राष्ट्रपति ट्रम्पमाथि कटाक्ष गर्ने कुनै अवसर गुमाएका छैनन् । इन्साइडर ट्रेडिङको कुनै पनि विचार हास्यास्पद छ ।’

प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले पनि पत्रकारसँग कुरा गर्दै उक्त आरोपको खिल्ली उडाएका थिए । उनले भने, ‘मलाई लाग्छ, आजको दिन स्टक किन्नका लागि राम्रो दिन हुनेछ । एजेन्सीको सहयोगमा

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments