20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठअन्नपूर्ण पदमार्गमा बेपत्ताको खोजी कठिन

अन्नपूर्ण पदमार्गमा बेपत्ताको खोजी कठिन

हिमपहिरोमा फसेकाहरूलाई उद्धार गरेर पोखरा ल्याइएको छ
हिमपहिरोमा फसेकाहरूलाई उद्धार गरेर पोखरा ल्याइएको छ

हिमपहिरोको मात्रा ठूलो भएकाले अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएका चार कोरियाली र तीन नेपाली नागरिकको खोजीमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा साना र ठूला हिमपहिरो जाँदा त्यसक्षेत्रमा पदयात्रा गरिरहेका कैयौँ विदेशी र नेपाली नागरिकहरू फसेका थिए।

हिमपहिरोका कारण बाटोमा फसेका ११० जनाको उद्धार गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बीबीसीलाई बताए।

उनले भने, “तर चार कोरियाली र तीन नेपालीको बारेमा भने खबर पाउन सकिएको छैन।”

“हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ। तर त्यसबारे यकिन हुन सकेको छैन।”

हिमपहिरोमा फसेकालाई उद्धार गरेर पोखरा ल्याइएको छ
हिमपहिरोमा फसेकालाई उद्धार गरेर पोखरा ल्याइएको छ

त्यस क्षेत्रको प्रहरी चौकीबाट खटिएका प्रहरी र अन्यले हिमपहिरोमा उनीहरू पुरिएको हुनसक्ने भएकाले खनेर निकाल्नुपर्ने सुझाव दिएको केसीले जानकारी दिए।

स्थल र हवाई उद्धारको प्रयास

“हिमपहिरो ठूलो भएकाले खन्नका लागि पनि समस्या छ। अहिले हामी छलफलकै चरणमा छौँ,” उनले भने।

उद्धारका लागि आइतवार मौसम खुल्ने बित्तिकै एउटा हेलिकप्टर त्यस क्षेत्रमा पठाइसकिएको बताइएको छ।

हराइरहेकाहरूको खोजीका लागि स्थलमार्गबाट पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिए।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले पनि १८ देखि २० जना उद्धारकर्मीको टोली उक्त क्षेत्रमा प्रस्थान गरिसकेको बताए।

तर प्रतिकूल मौसम र ठूलो हिमपहिरोका कारण उद्धारमा कठिनाइ भएको उनले जानकारी दिए।

“त्यस क्षेत्रमा होटलहरू बन्द छन् त्यसले गर्दा सातजना व्यक्तिहरूको अवस्था के छ भन्ने भन्न सकिन्न,” उनले भने।

कास्कीका प्रजिअ केसीका अनुसार काठमाण्डूस्थित कोरियाली दूतावासले पनि त्यस क्षेत्रमा एउटा उद्धार टोली पठाउने जानकारी दिएको छ।

अन्नपूर्ण क्षेत्र पदयात्राका लागि चर्चित छ
अन्नपूर्ण क्षेत्र पदयात्राका लागि चर्चित छ

त्यस्तै हिमालयन उद्धार सङ्घ नेपालले पनि उद्धारका लागि टोली पठाउन तयार अवस्थामा रहेको जानकारी दिएको उनले बताए।

सङ्घका अध्यक्ष नरेन्द्रदेव भट्टले भने, “आवश्यक परेमा तत्कालै टोली पठाउने गरी तयारी अवस्थामा हामी रहेका छौँ।”

“यसबारे हाम्रो कास्कीका प्रजिअ र गृह मन्त्रालयसँग समन्वय भइरहेको छ।”

मौसम कस्तो होला?

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार भइरहेको छ।

आइतवार देशको पूर्वी, मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

उपत्यका तथा तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको विभागले जनाकारी दिएको छ।

विभागले आगामी केही दिनमा देशभरको मौसम क्रमश: खुल्दै जाने जनाएको छ।

तराईमा भने केही क्षेत्रमा हुस्सु लागेको र घाम नलाग्ने हुँदा चिसो बढ्ने विभागको पूर्वानुमान रहेको छ।

उद्धार गरिएकामा को-को?

कास्कीका प्रजिअ केसीका अनुसार ११० जना जतिको उद्धार गरिसकिएको छ।

केही होटल व्यवसायीहरू चाहिँ अन्नपूर्ण क्षेत्रमा नै बसिरहेका छन्।

उनीहरूको पनि आवश्यक पर्‍यो भन्ने बित्तिकै उद्धार गर्न सकिने केसीले जानकारी दिए।

उद्धार गरिएकामध्ये ७३ जना विदेशी र ३७ जना नेपाली रहेका छन्।

उद्धार गरिएका सबैभन्दा बढी विदेशीहरू कोरियाका नागरिक रहेका छन्।

कोरियाका ५१ जना नागरिको उद्धार गरिएको उनले जानकारी दिए।

त्यस्तै उद्धार गरिएकामा चीनका १४ जना, सिङ्गापुरका पाँचजना, अस्ट्रेलियाका दुईजना र एल साल्भाडोरका एक नागरिक रहेका छन्।

साभार:bbc.com

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments