Wednesday, January 14, 2026
spot_img
Homeखेलकुदअव्यवस्थित तारले कुरुप बन्दै शहर–बजार, कनकाई–३ ले शुरु गर्यो अभियान

अव्यवस्थित तारले कुरुप बन्दै शहर–बजार, कनकाई–३ ले शुरु गर्यो अभियान

झापा, २० मंसिर । पछिल्लो समय झापाका शहर–बजार अव्यवस्थित तारका कारण कुरुप बन्दै गएका छन् ।

विभिन्न इन्टरनेट तथा केवल नेटवर्क सेवा प्रदायक संस्थाले जथाभावी रुपमा तार लगाउँदा जिल्लाका साना तथा ठूला शहर बजार कुरुप बन्दै गएका हुन् । पछिल्लो समय इन्टरनेट सेवा प्रदायक संस्था खुल्नेक्रम बढेसँगै विद्युतका पोलहरुमा अव्यवस्थित रुपमा असरल्ल तारहरु टाँगिएको देख्न सकिन्छ ।
यसैबीच, झापाको कनकाई नगरपालिका वडा नं. ३ ले अव्यवस्थित तारलाई व्यवस्थित गर्ने कार्यको शुरुवात गरेको छ । कार्यवाहक वडाध्यक्ष गोविन्द सुवेदीले विद्युतीय पोलहरुमा टाँगिएका अव्यवस्थित तारले नगर क्षेत्रलाई कुरुप बनाउनुका साथै दुर्घटनाको जोखिम बढाएको बताउनुभयो ।
“जताततै तार टाँगिएको छ, यसले बजार क्षेत्र कुरुप त भएको छ नै जोखिम पनि बढेको छ”, उहाँले भन्नुभयो, “वडाको बैठकबाटै निर्णय गरेर अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउने काम थालेका छौं ।” वडा कार्यालयमा दर्ता हुन आह्वान गरिएको बताउँदै उहाँले निर्णय अटेर कारबाही गरिने बताउनुभयो ।

कनकाई नगरपालिकामा करिब डेढ दर्जन इन्टरनेट तथा केवल नेटवर्क सेवा प्रदायक संस्था छन् । स्वयम् इन्टरनेट तथा केवल नेटवर्क सेवा प्रदायकहरु नै अव्यवस्थित रुपमा टार टाँगिदा बजार क्षेत्र कुरुप हुनुका साथै असुरक्षित भएको स्वीकार गर्छन् ।

नेपाल लिंक कम्युनिकेशन प्रालिका युवराज चौलागाईंले वडा तथा नगरले मापदण्ड बनाएर अव्यस्थित तारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । “प्रयोगविहीन भएका तार धेरै छन्”, उहाँले भन्नुभयो, “कुन कम्पनीको कुन तार हो छुट्याउन सकिने अवस्था छैन ।” पुराना तारहरुलाई निकालेर हटाउनुपर्ने उहाँले बताउनुभयो ।कनकाई वल्र्ड लिंकका दिलकुमार श्रेष्ठले सेवा दिने क्रममा तारहरु विस्तार गर्दा मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो । “वडा र नगरले मापदण्ड बनाएर लागुपर्छ पर्छ”, उहाँले भन्नुभयो, “हामी त्यसमा पनि सहयोग गर्छौं ।”

पछिल्लो समय अव्यवस्थित तारका कारण आगलागीका घटना समेत भएको कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य कृष्णमाया भुजेल बताउनुभयो । “नगर क्षेत्रमा अव्यवस्थित तारले दुर्घटना भएको छ”, उहाँले भन्नुभयो, “थप हुन सक्ने सम्भावनालाई निस्तेज पार्न पनि तार व्यवस्थित गर्नुको विकल्प छैन ।”

झापाको कनकाईसँगै बिर्तामोड, दमक, भद्रपुर, बिर्तामोड, मेचीनगर लगायतका स्थानीयतहमा अव्यवस्थित तारको समस्या बढ्दै गएको छ । एउटै विद्युतको पोलमा तलदेखि माथिसम्म विभिन्न किसिमका तार देख्न सकिन्छ ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments