
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्न लागेको हो ।
बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक बिदा परेकाले फागुन १३ गतेसम्म कायम शेयधरनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
गत माघ २३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको थियो । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएको हो ।
यस कम्पनीको १ कित्ता शेयर हुने लगानीकर्ताले एक कित्ता शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासनमा आउन लागेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी ८० लाख ७० हजारभन्दा बढी खुद नोक्सानीमा छ । यस अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ १५ करोड २५ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
वार्षिक १ रुपैयाँ ५३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ८५ रुपैयाँ ५३ पैसा छ ।




