Skip to main content

Rd Creation

नेपालकै प्रथम कुमारीलाई पहिलोपटक भव्य ‘भोज’

नेपाल संवत् ६११ मा स्थापित नेपालकै प्रथम कुमारीलाई पहिलोपटक परम्परागत ‘समेब्व’ (भोज) चढाइएको छ। भक्तपुर नगरपालिका–१०, क्वाठण्डोस्थित प्रशन्नशिल महाविहारमा शनिबार आयोजित भव्य समारोहका बीच कुमारीलाई विशेष सम्मानसहित समेब्व चढाइएको हो।

कार्यक्रममा सम्पदा संरक्षण महाअभियानका संरक्षक रबि शाक्यले आभूषण प्रदान गरे। रञ्जितकार समाज भक्तपुरले कुमारीलाई गरगहना तथा परम्परागत पोशाक अर्पण गर्‍यो। यस्तै, भक्तपुरका संस्कृतिप्रेमीहरुले स्वेच्छिक रूपमा विभिन्न परिकार चढाएका थिए। स्थानीय मदन रञ्जितकारले दुई किलो छोयला चढाए, भने नारायण रञ्जितकारले राँगाको टाउको अर्पण गरेका थिए।

कार्यक्रमको शुरुवात भक्तपुर नगर परिक्रमा गर्ने बाजागाजासहितको र्यालीबाट भएको थियो। भक्तपुर नगरपालिका-१, भार्वाचोबाट सुरु भएको र्याली नगर परिक्रमा गर्दै प्रशन्नशिल महाविहार, क्वाठण्डो पुगेको थियो। त्यहाँ ख्वपः मुल कुमारीलाई समेब्व चढाइएको थियो।

समारोहमा रञ्जितकार समाज भक्तपुर र सम्पदा संरक्षण महाअभियानको संयुक्त आयोजना रहेको थियो। कार्यक्रमपछि सहभागीहरूलाई भक्तपुर नगरपालिका-७, गोल्मढीस्थित झौरबहीमा विशेष कुमारी भोज प्रदान गरियो। यसअघि नै प्रति सहभागी ५ सय शुल्क संकलन गरी भोजको व्यवस्थापन गरिएको थियो।

रञ्जितकार समाज भक्तपुरका उपाध्यक्ष लक्ष्मीप्रसाद रञ्जितकारका अनुसार नेपालका कुमारी परम्परामध्ये भक्तपुरकै ख्वपः मुल कुमारी पहिलो कुमारी मानिन्छ। उनका अनुसार, नेपाल संवत् ६११ मा यो परम्परा सुरु भएपश्चात मात्रै काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अन्य जिल्लाहरूमा कुमारी प्रथाको अभ्यास विस्तार भएको हो।

भक्तपुरका कुमारीहरू अपेक्षाकृत प्रचारप्रसारमा नआएको भन्दै यस संस्कृतिलाई पुनःस्थापना गर्न र संरक्षणलाई प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए।

उनका अनुसार, भक्तपुरमा हाल १२ जना कुमारीहरू छन्। जसमा प्रशन्नशिल महाविहार, क्वाठण्डोस्थित ख्वपः मुल कुमारी मुख्य कुमारी हुन्। जीवित कुमारीहरू रजस्वला हुनु अघि नै फेरिन्छन्, जसले भक्तपुरमा वर्षभरि १२ जना कुमारीहरू रहने परम्परा कायम रहन्छ।

कार्यक्रममा सयौं संस्कृतिप्रेमी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisements

प्रकाशित: २६ माघ २०८१ १९:४९ शनिबार



सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.