सुनसान छ शहर, भयङ्कर डरलाग्दो सपना जस्तो, हेर्दै उराठ लाग्दो । दिनरात नभनिकन एकै रफ्तारमा अगि बढिरहेको यो दुनियाँ, यो जगत अथवा यो शहर चिरनिन्द्रामा परेको जस्तो लाग्छ अचेल । छैन तँछाडमछाड, भिडभाड, चहलपहल । देखावटी र रिसराग पनि छैन । छ त केवल एक बारको जुनीमा अलि दिन बाँचौं भन्ने भावना । आपसमा भाइचारा, श्रद्धा अनि सम्मान ।
चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरस अथवा कोभिड १९ ले विश्वभरका मानव जातिलाई आतंकित पारेको यो बेलामा त्रिदेव चौधरी कसरी चोखो बच्न सक्थे र । पर्सा जिल्लाको सुगौली ४ घर भएका त्रिदेव दुई वर्षदेखि कुवेतमा पिज्जा डेलिभरी गर्ने काम गर्छन ।
कोरोना भाइरसबाट बच्न कुवेत सरकारले गएको फेब्रुवरी २५ देखि देशभर लकडाउन गरेको थियो । लकडाउनले नपुगेर मार्च १५ तारिखदेखि रातको समयमा कफ्र्यु लगाउन थालियो । मे १० तारिखबाट त पूरै कफ्र्यु हालिएको छ, अथवा रातमा पनि दिनमा पनि कफ्र्यु ।
त्रिदेव चौधरी एउटै कोठाभित्र बसेको एक महिना हुन लाग्यो । कम्पनीले ५० प्रतिशत मात्रै तलब दिएको थियो । त्यही पैसा कोठाभाडा र खानपानका लागि खर्च गरिरहेका छन् ।
कोरोना कहरसँगै बजारमा अत्यावश्यक चिज पाउन छाडेको छ । महँगीले खाद्यवस्तु छोइनसक्नु भएको छ । त्यसैले त्रिदेव चौधरी र उनको परिवारलाई आर्थिक कठिनाई हुन थालेको छ ।
सुत्यो, उठ्यो, पकायो खायो, त्रिदेवको दिनचर्या अत्यासलाग्दो छ । सान्तवना दिन उनी परिवारलाई दिनहुँ फोन गर्छन । मन भुलाउन फेसबुकका अपडेट हेर्छन । कोरोनाको त्राससँगै उनलाई नेपाल सरकारले भनेजस्तो काम गर्न सकिरहेको छैन जस्तो लाग्छ । कोरोनाको डर त छँदैछ आजभोली उनलाई भारतले सिमा मिचेको विषयमा रिस उठ्न थालेको छ । डरसँगै रिस छ उनको मनमा ।
५०–५५ डिग्री तातोमा मोटरसाइकल चलाउँदै हिँड्दा, कामको चाप, ग्राहकको गाली, ट्राफिकको हेपाइले दिक्क हुँदा त्रिदेवलाई लाग्थ्यो, यो काम छोड्न पाए । तर अचेल कोठा भित्रैको बसाईले उनलाई त्यही काम प्रिय थियो भन्ने लाग्न थालेको छ । कामना गरौं कोरोना भाइरसको अन्त्य छिट्टै होस् । हामी पुरानै काममा फर्कन सकौं ।
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस।