Friday, January 16, 2026
spot_img
HomeEnglish Newsफिदिममा चिया महोत्सव हुने

फिदिममा चिया महोत्सव हुने


पाँचथर । फिदिममा चिया महोत्सव हुने भएको छ । पूर्वी पहाडको चियालाई चिनाउन फागुन ५ र ६ गते चिया महोत्सव आयोजना हुन लागेको हो ।

पूर्वी पहाडको गुणस्तर विश्वमाझ पुर्‍याउन चिया महोत्सव गर्न लागिएको लाली चिया उत्पादक तथा प्रशोधन सहकारी संस्थाका टंक प्रसाद राईले बताए । उनले चिया उद्योगी, व्यवसायी किसान तथा चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
‘पूर्वको चिया विश्वमा नै स्वादिष्ट र अर्ग्यानिक मानिए पनि प्रचारप्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गर्नुपरिरहेको गुनासो बढेपछि लाली चिया उत्पादक तथा प्रशोधन सहकारी संस्था अगुवाइमा चिया महोत्सव आयोजना गरेका हौँ’, राईले भने, ‘कृषिजन्य उत्पादन चियालाई विदेश निर्यात गर्न सके विदेशी मुद्रा आर्जन प्रमुख स्रोत बन्ने थियो ।’
चियाको बजारीकरण गर्ने र किसानलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ । महोत्सवपछि पूर्वी नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन र बजारीकरण गर्न सहजता हुने अपेक्षा गरिएको राईको भनाइ छ । उनका अनुसार महोत्सव फिदिमको बिपी पार्कमा आयोजना गरिने छ ।

लाली चिया उत्पादक तथा प्रशोधन सहकारी संस्था सङ्घसँगको सहकार्य पर्यटन कार्यालय झापाको सहयोगमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा चियासँग सम्बन्धित विभिन्न संघसस्थाका साथै चिया किसान तथा व्यापारी सहभागी हुनेछन् ।
महोत्सवमा पूर्वमा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइनेछ । विदेशी चिया पारखी तथा चिया व्यापारीले महोत्सवबाट चिया खरिद तथा बिक्री गर्नसक्ने आयोजकले जनाएको छ ।
पूर्वमा उत्पादन हुने चियालाई प्रदर्शनसँगै बिक्रीवितरण र प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएकामा यहाँका किसान उत्साहित भएका छन् । महोत्सवमा ‘चिया’ विषयमा छलफल एवं अन्तर्क्रियासमेत हुने राईले जानकारी दिए ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments