जङ्गली हात्तीले बराहक्षेत्र-२ स्थित किसान अवीरमान भुजेलको घर र घरभित्र रहेको अन्नपातमा गएराति क्षति पुर्याएको छ ।
बराहक्षेत्रमा सात वटाको सङ्ख्यामा घुमिरहेका जङ्गली हात्तीमध्ये दुई वटा हात्तीले किसान भुजेलले सञ्चालन गरिरहेको आदित्य कृषि फर्म, फर्ममा निर्माण भएको पक्की घर र घरभित्र रहेको २५ मन धान, २० मन मकै, ३ बोरा नुन र ब्लक मेसिनरी गरेको गोदाममा पूर्ण रुपमा क्षति पुर्याएको वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिएका छन् ।

‘एकदुई दिन बिराएर हात्ती गाउँमा प्रवेश गरिरहेको छ,’ वडाध्यक्ष गौतमले भने,’हात्तीसहित निलगाई लगायतका जङ्गली जनावरले क्षति पुर्याइरहेको छ, तोरी, धान, मकैलगायतका अन्नबालीमा क्षति पुर्याइरहेको छ ।’
वडा कार्यालयको सिफारिस अनुसार क्षतिको विवरण हेरेर बराहक्षेत्र नगरपालिकाले सामान्य राहत उपलब्ध गराउँदै आएको वडाध्यक्ष गौतमले जानकारी दिए । ठूलो क्षति भएको अवस्थामा प्रदेश सरकारलाई सिफारिस गर्ने गरिएको वडाध्यक्ष गौतमले बताए ।
बराहक्षेत्र हात्ती प्रकोप क्षेत्रका रुपमा रहेको छ । हात्तीको बिजाइँ नियन्त्रण गर्न ठोस योजना अघि सार्न सकेको छैन । जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गर्नुपर्ने स्थानीयको माग रहेको छ । हात्तीले बर्सेनी लाखौँ मूल्यको धनमाल र मानवीय क्षति पुर्याउँदै आएको छ ।




