नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रियापछिका तीनवटा चुनावमा प्रतिस्पर्धा गरिसकेको उल्लेख गर्दै अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा प्रवेश गरेको र नयाँ शक्तिका रूपमा देशभर छाएको बताए।
दाहालले २०६४ सालको चुनाव ताका आम नागरिकमा देखिएको उत्साह अहिले फेरि दोहोरिएको दाबी गरे। उनले भने, ‘त्यो बेला म जहाँ गए पनि बालबालिका, युवा, वृद्धवृद्धा सबै मलाई छुन, तस्बिर खिच्न उत्सुक हुन्थे। अहिले पुनः त्यस्तै उभार देख्न पाइरहेको छु।’
उनका अनुसार माओवादी आन्दोलन अहिले नयाँ अवसरको मोडमा पुगेको छ। ‘पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जहाँ गए पनि हाम्रो पार्टीप्रति २०६४ सालकै जस्तो आकर्षण देखिन्छ,’ उनले भने।
अध्यक्ष दाहालले एकताबद्ध भएर अघि बढेमा २०८४ सालको निर्वाचन माओवादीकै हुने दाबी गरे। साथै, माओवादी शक्ति नै देश परिवर्तनको संवाहक भएको उल्लेख गरे।
प्रकाशित: २६ माघ २०८१ १८:५५ शनिबार




