Friday, January 16, 2026
spot_img
HomeEnglish Newsसाँझसम्म मन्त्रीस्तरीय वार्ता नभए ‘नो केबलकार समूह’ ले भोलि थप आन्दोलनको कार्यक्रम...

साँझसम्म मन्त्रीस्तरीय वार्ता नभए ‘नो केबलकार समूह’ ले भोलि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने


काठमाडौं । सरकारी टोलीसँग वार्ता बिथोलिएसँगै ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।

आइतबार भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै नो केबलकार समूहले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । वार्ता बिथोलिएसँगै नो केबलकार समूह माइतीघरमा भेला भएको थियो । उनीहरूले कर्मचारीस्तरको टोली अस्वीकार भएको बताएका छन् ।

आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताका अनुसार मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै नो केबलकार समूह वार्तामा बस्ने छ । त्यसका लागि आज साँझसम्मको समय दिइएको उनले बताए ।

‘सरकारी वार्ता टोलीका सदस्यहरूले केबलकार जसरी पनि बन्ने र त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्तावतिर जानुभयो’, उनले भने, ‘त्यसमा हामी छलफल नै गर्न चाहँदैनौं । आज साँझसम्म पर्खिन्छौं, सरकार पक्षबाट केही प्रयास नभए भोलि नै आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं । ‘

आजको बैठकमा गृहमन्त्रालयका तर्फबाट प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता भएको थियो । तर आन्दोलनरत पक्षले कर्मचारी नभइ राजनीतिक संयन्त्रसँगमात्रै वार्ता गर्ने अडान राखेका हुन् ।

यो विषय राजनीतिक मुद्दा भएकाले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समिति गठन भएमात्रै आफूहरु छलफलमा सहभागी हुने मेहेताले बताए । त्यसका लागि आज साँझसम्म समय दिएको उनले बताए । ‘उहाँहरु भनेको कार्यान्वयनमात्रै गर्ने हो । यो राजनीतिक मुद्दा भएकाले हामी मन्त्री वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै छलफल गर्ने भनेका छौं’, उनले भने, ‘नभए भोलिदेखि हामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’

पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।

उक्त दिन भएको ६ बुँदे सहमतिमा माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो । त्यसक्रमा दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने,  मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने सहमति भएको थियो ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments