Home गृहपृष्ठ स्कुलमा कविता: विद्यार्थीका कवितामा नारीका संवेदना

स्कुलमा कविता: विद्यार्थीका कवितामा नारीका संवेदना

0
स्कुलमा कविता: विद्यार्थीका कवितामा नारीका संवेदना


धूलोले ढाकिएको गाउँको अस्पष्ट छाती 

जहाँ हिजो आँगनमा माटोको गन्ध थियो 

आज छरपस्ट भएको छ रगतको बास्ना । 

चिया बगानका पातहरु टुटेका छन् 

कतै ती पातहरुसँगै चुँडिएका छन् 

एउटी नारीको सपना 

अँध्यारो रात छुटेसँगै  … 

इन्टरनेट र सामाजिक सञ्जालको दूष्प्रभावबाट सिर्जित किशोरी हिंसाको बढ्दो समस्यालाई विद्यार्थीले आफ्ना कवितामार्फत सशक्त ढङ्गले उठान गरेका छन् । महिला तथा बालबालिका हिंसाका मुद्दा, महिला अधिकारको प्रत्याभूतिको अपेक्षा, बेरोजगारी समस्याले थिलथिलो पारेको परिवार र समाज साथै वैदेशिक रोजगारको पीडालाई कवितामा कलात्मक ढङ्गले बालबालिकाले प्रस्तुत गरेका छन् । 

Nirnayak school ma kabita

सुनसरी स्टार एकेडेमीकी विद्यार्थी युनिशा देउजा ‘मानवता हराएको समय’ शीर्षकको कवितामा अगाडि लेख्छिन्- 

उज्यालो बिहानीमा कतै टुटेको स्वर सुनिन्छ 

त कतै बचाउ बचाऊको चित्कार 

सयौँ आँखाहरुले हेर्दा पनि केवल चिच्याहटको धुन सुनिन्छ 

सानै छदाँ बाले उखेलेर फालेको 

पिपलको बोट 

तलको चौतारी 

विद्रोहको साक्षी बनेका छन् 

बलात्कृत नारीहरुले हुर्काईरहेका छन् 

प्रतिशोधका भ्रूणहरु, 

तर तिनलाई जन्मिनुअघि नै हत्या गरिन्छ 

यो लाजको कथा कति पटक दोहोरिन्छ ? 

सडकको किनारमा बालक रुँदै छ

उसको भोकलाई प्रश्न ठानिन्छ 

महलभित्र भोज चल्दै छ 

जहाँ भोकको कथा अपमान ठहरिन्छ 

साँच्चै हाम्रो समाज कता जादै छ ? 

अस्पतालको ओछ्‌यानले सपना चिथोर्छ 

पैसाले जीवन किन्छ नदी बग्दै छ 

तर प्यासी ओठका लागि होइन 

धूलोले ढाकेको जमिनका लागि पनि होइन 

कहाँ छ त्यो समय ? जहाँ शब्दहरुले प्राण भर्दथे 

जहाँ हातहरु आशा बोकेर दौडिन्थे 

अब केवल चुपचाप छ लौरो 

टेक्दै हिँड्ने मानवताको आत्मा 

यो समय माटोको होइन 

यो समय आशाको होइन 

धुवाँले ढाकिएको भविष्य हो । 

यो समय मानवताको होइन

मानवता हराएको समय हो ।

Ramesh Kafle

स्वर्णिम साहित्य समाज वराहक्षेत्रको आयोजनामा भइरहेको स्कुलमा कविता प्रतियोगिताको दोस्रो संस्करणको तेस्रो अडिसनमा ६ विद्यालयका ११ प्रतियोगीले आफ्ना रचना प्रस्तुत गरे ।  ‘अपेक्षाभन्दा अत्यन्तै स्तरीय कविता आज सुन्न पाइयो, विद्यार्थीले महिला, बालबालिका र नारी सम्वेद्य सिर्जना प्रस्तुत गर्दा आङ नै जिरिङ्ग हुन पुग्यो,’ अतिथि निर्णायक कवि नगेन्द्र बजगाईंले भने,’कवितामा विद्यार्थीले बोलेका मुद्दा राज्यले सुन्नु पर्छ ।’ 

‘सिर्जनाको नयाँ खोजी’ नाराका साथ बराहक्षेत्रका ५ साविक गाविसबाट २/२ उत्कृष्ट प्रतियोगी छनोट गरी फाइनल प्रतिस्पर्धा गराउने र उत्कृष्ट १ छनोट गराउने उद्देश्यले आयोजित ‘रियालिटी शो’ को तेस्रो अडिसनमा शनिबार सम्पन्न भएको हो ।

बराहक्षेत्र-७ स्थित महेन्द्र मावि तित्रीगाछीमा भएको अडिसनबाट उत्कृष्ट २ विद्यार्थी कवि युनिसा देउजा र रिजन बिक छनोट भएका छन् । 

IMG_20250201_142347

सान्त्वना कोशी माविकी अनुप राउत र सुनसरी स्टार एकेडेमीका सिमन पोख्रेल घोषित भए । 

निर्णय सार्वजनिक हुनु अघि अतिथि सर्जक ज्ञानु राईले तीन गजल प्रस्तुत गर्दा अतिथि निर्णायक नगेन्द्र बजगाईले आफ्ना तीन कविता प्रस्तुत गरे । निर्णायकहरु कवि छविना लुङ्गेली मगर र प्राध्यापक रमेश काफ्ले ‘स्कुलमा कविता’ कार्यक्रमका निर्णायकले उत्कृष्ट प्रतियोगी छनोट गरेका हुन् । 

कार्यक्रममा बराहक्षेत्र-७ का वडाध्यक्ष कपिल आचार्यको प्रमुख आतिथ्यता र बराहक्षेत्र-८ का वडाध्यक्ष रोशन खड्का विशिष्ट आतिथ्यता रहेको थियो । 

समाजका उपाध्यक्ष शरण लिम्बूको सभाध्यक्षतामा भएको अडिसनको सहजीकरण कवि सविता फागोले गरेकी थिइन् ।