23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठहिमाली समुदायको लागि एक महत्वपूर्ण सन्देश RD Creation

हिमाली समुदायको लागि एक महत्वपूर्ण सन्देश RD Creation


नुरू शेर्पा

- Advertisement -

१) राष्ट्रिय याक दिवस वैशाख ७ गते

नेपाल सरकारले हिमाली समुदायको पेशा याक तथा चौँरीको संरक्षणका लागि राष्ट्रिय व्यापी रूपमा याक दिवस मनाउने निर्णय बि.सं.२०८१ भदौ ३० गतेको बसेको मन्त्रीपरिषद्को बैठकमा वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने निर्णय गर्यो । याकको आनुवंशिक शुद्धता कायम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा बि.सं.२०३० वैशाख ७ गते सोलुखुम्बु जिल्लाको स्याङबोचेमा याक आनुवंशिक स्रोत केन्द्र स्थापना गरिएको दिनलाई लोपोन्मुख अवस्थामा रहेको याक चौरीको संरक्षणका लागि देशव्यापी रूपमा याक दिवस मनाउन यो निर्णय भएको छ ।

२) प्रथम राष्ट्रिय याक दिवस

- Advertisement -

“याक चौँरी प्रवद्र्धनः हिमाली जीवन, संस्कृति वातावरण संरक्षण“ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय याक दिवस काठमाण्डौमा मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अन्तरराष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) र याक तथा चौँरी कृषक महासंघ नेपालको आयोजनामा देशभरिका याक चौँरी कृषकहरूको उपस्थितिमा कार्यक्रम भएको छ ।

३) याक तथा चौँरी कृषक महासङ्घ नेपालको स्थापना

- Advertisement -

नेपाल सरकार पशुपन्छी विकास मन्त्रालय र अन्तरराष्ट्रिय एकीकृत विकास केन्द्र (इसीमोड) को प्रयासमा नेपालमा भरिका याक तथा चौँरी कृषकहरूको राष्ट्रिय सञ्जालको रूपमा याक तथा चौँरी कृषक महासङ्घ नेपाल स्थापना भएको छ । २९ वटा जिल्लामा क्रियाशील याक तथा चौँरी कृषकहरूको संघ÷ संस्था महासङ्घको सदस्य संस्था हुने प्रावधान छ ।

 

४) नेपालमा याक चौँरीको वर्तमान अवस्था

लोपोन्मुख अवस्थामा रहेको हिमाली क्षेत्रको मणिको रूपमा मनाउने याक चौँरी पछिल्लो दशकमा तिब्र गतिमा लोप हुने क्रम छ । नेपाल सरकार तथ्याङ्क विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० मा ने पालमा ५३ हजार १ सय ९५ वटा छन् । यो तथ्याङ्क अनुसार २९ वटा जिल्ला मध्ये सबैभन्दा बढी डोल्पा जिल्लामा १० हजार ५ सय ५० वटा र सबैभन्दा कम रुकुम पूर्व जिल्लामा १५ वटा मात्र याक चौँरी सङ्ख्या छ । साथै १९ जिल्लामा १ हजार भन्दा कम सङ्ख्यामा याक चौँरी अस्तित्वमा रहेको देखाएको छ । नेपाल सरकार पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ र २०८९÷८० को तथ्याङ्कलाई हेर्ने हो भने अपत्यारिला ढंगले याक चौँरीको सङ्ख्यामा घटबढ देखिन्छ ।

५) नेपालमा याक चौँरीको महत्व र अवसर

याक तथा चौँरी पालन एउटा पशुपालनको अतिरिक्त बहुआयामिक दृष्टिकोणबाट हेर्न सकिन्छ। मुख्य रूपमा यो हिमाली समुदायको जीवनको सारथी हो । साथसाथै हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण, हिमाली समुदायको संस्कार संस्कृतिको रक्षा, उच्च पर्वतीय क्षेत्रमा पाइने जडीबुटी मिश्रित दुग्धजन्य वस्तु, पर्यापर्यटन प्रवद्र्वन लगायत सिङ्गो नेपालको पहिचान सँग जोडिएर याक चौँरीको महत्वलाई हेर्न सकिन्छ । नेपालको हिमाली क्षेत्रको समृद्धिको आधारको रूपमा याक चौँरी व्यवसायलाई विस्तार गरी पारिस्थितिक पद्धतिको संरक्षण , वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्धन सँगै हजारौँ युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न सकिने अवसर रहेको छ ।

६) नेपाल सरकारले याक चौँरीको संरक्षणमा तत्काल चल्नु पर्ने कदम

सदियौँ देखि राज्यको नजरमा नपरेका याक चौँरी कृषकहरू बल्ल सरकारले चाल पाएका छन् । हिउँदको हिमपात, बर्खामासको झरी, विषम परिस्थितिलाई सामना गर्दै दूरदराजका कृषक सम्म पुग्न सरकारले कृषक केन्द्रित प्रोत्साहन मुलक कार्यक्रम ल्याई हाल यस पेशामा आबद्ध कृषकलाई यो पेशामा टिकाइराख्न पहिलो प्राथमिकता दिनु पर्ने देखिन्छ । नेपाल सरकारको आर्थिक वर्ष २०७८÷७९ र २०८९÷८० को तथ्याङ्कलाई हेर्ने हो भने विश्वसनीय याक चौँरी तथ्याङ्क नरहेको पुष्टि हुन्छ । जसकारण कृषि तथा पशुपंछी मन्त्रालयको सर्कुलर र याक तथा चौँरी कृषक महासङ्घ नेपालको संलग्नतामा स्थानीय सरकारको पशु सेवा शाखासँग सहकार्य गरी तत्काल कृषकको विवरण सहित याक चौरीको वास्तविक तथ्याङ्क सङ्कलन गर्नु पर्ने देखिन्छ ।

 

७) याक चौँरी सङ्ख्याका आधारमा भत्ता, सरकारको पहिलो प्राथमिकता

नेपाल भरिका याक तथा चौँरीको वास्तविक कृषक र तथ्याङ्क सङ्कलन पश्चात् नेपाल सरकार र सरोकारवालाहरूले हाल यस पेशामा संलग्न कृषकहरूलाई यस पेशामा टिकाइराख्न याक चौँरी किसान परिचयपत्र वितरण गरी उनीहरूले पालेका पशुधन सङ्ख्याको आधारमा मासिक भत्ता वितरण गर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ । यसरी याक चौँरी सङ्ख्याको आधारमा मासिक भत्ता वितरण गर्ने व्यवस्था मिलाउन सकिए नयाँ याक चौरी कृषकहरु पनि यस पेशामा आवद्ध हुने देखिन्छ । कृषकका अन्य समस्याहरूलाई आवधिक र दीर्घकालीन योजनामा क्रमिक रूपमा सुधार गर्दै जाने र तत्काल सबै निकायले चासोका साथ याक चौरी सङ्ख्याका आधारमा भत्ता, सरकारको पहिलो प्राथमिकतामा पर्न प्रयास गर्नु पर्ने देखिन्छ। र आगामी वर्षहरुमा राष्ट्रिय याक दिवस देशभरिका याक र चौँरीको गोठहरूमा चौँरीका घिउँको बत्ती बालेर खुसियालीका साथ (ह्याप्पी याक डे)भन्दै मनाउने छन् ।

८) प्रथम राष्ट्रिय याक दिवस : हिमाली समुदायको लागि एक महत्वपूर्ण सन्देश

विगत लामो समय देखि हिन्दुकुश हिमालय पर्वतमा याक चौँरीको लोप हुँदा, सिङ्गो हिमालको अस्तित्व सङ्कटमा पर्ने निचोडमा साथ विभिन्न देश सहित नेपालमा याक चौँरी कृषक महासङ्घ स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह खेल्ने अन्तरराष्ट्रिय एकीकृत विकास केन्द्र (ईसिमोड) र नेपालमा स्थापना भएका याक तथा चौँरी कृषक महासङ्घ नेपालको प्रयास साथै नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा नेपालमा पहिलो पटक राष्ट्रिय याक दिवस मनाउँदै यसले सिङ्गो हिमाली समुदायको लागि महत्वपूर्ण सन्देश प्रवाह भएको छ ।

लेखक याक तथा चौरी कृषक महासंघ नेपाल तदर्थ समितिका अध्यक्ष तथा याक तथा चौरी ब्यबसायी संघ नेपाल का संस्थापक अध्यक्ष हुन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments