Friday, January 16, 2026
spot_img
HomeEnglish News२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैनः प्रचण्ड « News of Nepal

२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैनः प्रचण्ड « News of Nepal

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राखेका हुन् ।

२०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए ।  ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो, जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ,’ उनले भने, ‘म विहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो संभव भएको छ, म जीवनभर यो अभियान जारी राख्ने छु ।’

आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए । नयाँ पुस्ताका लागि मेहनत र संघर्ष आवश्यक रहेको उल्लेख गर्दै उनले विहान ५ बजेदेखि रातिसम्म मेहनतका लागि आफूबाट सिक्न पनि आग्रह गरे  ।

यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले सपटक पुरानो विरासत स्थापित गरेको समेत बताए।  ‘पार्टीहरु प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँँदैछ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरुले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो,’ अध्यक्ष प्रचण्डले भने,  ‘यसपटक अखिल क्रान्तिकारीले त्यो विरासत अनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’

सिंगै देशको ध्यान अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको उल्लेख गर्दै उनले यसले संगठको पहिचान थप उँचो बनाएको बताए ।  ठूलो उत्साहका साथ उद्घाटन भए पनि बन्दसत्र अलि अलि महाभारत जस्तो भएकाले धेरैमा चिन्ता सिर्जना भए पनि अन्तिममा लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन हुनु महत्वपूर्ण भएको उनको भनाइ रहेको छ ।

अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए । यसबाट माओवादीले नीति र नेतृत्व दुबै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश स्थापित भएको पनि उनले स्पष्ट गरेका छन ।

विद्यार्थी संगठनको निर्वाचनपछि आफूले यसपटक सही विवेकको प्रयोग गरेको संश्लेषण गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको बताए । यो चुनावले विद्यार्थी नहुने तर विद्यार्थी नेता हुने स्थितिको अन्त्य गरेको बताउँदै प्रचण्डले अब विद्यार्थी संगठनलाई पार्टीले एकताबद्ध बनाएर लैजान सहयोग गर्ने बताए ।

संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताएका छन । यो कम्युनिष्टहरुको महत्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, मार्क्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वानसमेत गरेका छन ।

आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्वपूर्ण चुनौतीको रुपमा रहेको उनको भनाइ रहेको छ । स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिंदै उनले एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रहसमेत गरेका छन् ।



Source link

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments