इटहरी म्याट्रिक्स थिएटर हलमा तीन दिने अन्तर्राष्ट्रिय नाटक महोत्सव जारी छ। शुक्रबारदेखि सुरु भएको यो महोत्सवअन्तर्गत शनिबार चार देशका नाटक प्रदर्शन गरिए। हङकङको आर्ट फर अलको ‘टुँडो’, चीनको ग्रास स्टेज थियटरको ‘बियोन्ड होप एन्ड डिस्पेयर’, जापानको नटसुको किरिटानीको ‘द ट्रान्स बोर्डर’ र भारतको नाट्य चेतनाको ‘देवी’ शनिबार प्रस्तुत गरिएका थिए। सर्वनाम नाट्य समूह र एसियन पिपुल्स थिएटर फेस्टिवल सोसाइटीको सहकार्यमा आयोजित यो महोत्सवमा १३ देशका ४४ जना विदेशी रङ्गकर्मी, कलाकार र संस्कृतिकर्मी सहभागी छन्।
महोत्सवको नारा ‘शान्तिका लागि थिएटर, संस्कृतिहरूको आदान–प्रदान र दिगो भविष्य संरक्षण’ रहेको छ। जापान, भारत, चीन, थाइल्यान्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स र सिङ्गापुरका कलाकारहरूले नाटक प्रदर्शन, कार्यशाला र सांस्कृतिक आदान–प्रदानमा भाग लिइरहेका छन्। एसियन पिपुल्स थिएटर फेस्टिवल सोसाइटीले हरेक वर्ष विश्वका विभिन्न देशमा यस्ता प्रस्तुति आयोजना गर्दै जनचेतना अभिवृद्धि गर्छ। यस वर्ष नेपाल यो शृङ्खलामा जोडिएको छ। इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिवल २०२५ नाम दिइएको यो कार्यक्रम काठमाडौँ, इटहरी र धनकुटामा केन्द्रित छ।
कोसी प्रदेशमा पहिलोपटक आयोजित यो महोत्सवको संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीले गरेका छन्। कोसी प्रदेशका २० भन्दा बढी रङ्ग–संस्थाहरूको सहकार्य रहेको आयोजकले जनाएको छ। म्याट्रिक्स परिसरस्थित धरणीधर सांस्कृतिक भवनलाई कोसी प्रदेश सरकारको सहयोगमा हालै थिएटर हलमा रूपान्तर गरिएको छ। यहाँ दिउँसो अन्तरक्रिया र सांस्कृतिक गतिविधि तथा साँझ नाट्य प्रदर्शन भइरहेको छ। पहिलो दिन शुक्रबार सांस्कृतिक नृत्यसहित बंगलादेशको ‘टुम्बा एन्ड द नाइभर’, सिङ्गापुरको ‘सिक्स माइक्रो लेक्चर्स अन जेनोसाइड’ र इटहरी म्याट्रिक्सको ‘भ्रूण’ प्रस्तुत गरिएको थियो। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले डम्फु बजाएर महोत्सव उद्घाटन गरेका थिए।
आइतबार धरणीधर थिएटर हलमा थाइल्यान्डको अनत्त थिएटर ट्रुपको ‘डिसेप्सन अफ द डेमोन’ र जापानको इन्डी लीको ‘इट वोन्ट बि लङ नाउ’ लगायतका नाटक प्रदर्शन हुने छन्। सोसाइटीको नेपाल यात्रा फागुन १७ मा काठमाडौँको सर्वनाम थिएटरबाट सुरु भएको थियो, जहाँ पाँच दिनसम्म दुई दर्जन नाटक मञ्चन गरिए। इटहरीपछि फागुन २६ मा धनकुटामा नाटक र सांस्कृतिक प्रस्तुति हुनेछ। कार्यक्रम संयोजक विक्रमश्रीका अनुसार कोसी प्रदेशको पर्यटन वर्ष २०८१ को सन्दर्भ जोडेर इटहरीमा यो महोत्सव आयोजना गरिएको हो।
प्रकाशित: २४ फाल्गुन २०८१ १९:१८ शनिबार




