Sunday, April 19, 2026
spot_img
Homeगृहपृष्ठकमाउने सपना बोकेको छोरा, अब केवल सम्झना मात्रै RD Creation

कमाउने सपना बोकेको छोरा, अब केवल सम्झना मात्रै RD Creation


पाँचथर ।  आइतबार ज्ञानेन्द्रको घर पुग्दा शोकको गहिरो सन्नाटा फैलिएको थियो। आठौँ दिनको कामकाज चलिरहेको थियो, तर घरभित्रको पीडा शब्दभन्दा गहिरो थियो। आँगनमा ५९ वर्षीय बुवा लक्ष्मी आचार्य चुपचाप बसेका थिए। वरिपरि गाउँलेहरू समवेदना दिन भेला भए पनि उनीभित्रको पीडा कसैले कम गर्न सकेको थिएन।

लक्ष्मी आचार्यका चार छोरामध्ये ज्ञानेन्द्र जेठा थिए। घरको मुख्य सहारा बन्ने आशा गरिएको छोरा। माइला छोरा वैदेशिक रोजगारीमा छन्, साइला फिदिमकै एक होटलमा काम गर्छन्, र कान्छा भर्खरै एसइई दिएर घरमै छन्। परिवारको आधार बन्ने अपेक्षा गरिएको जेठो छोरा गुमेपछि घर ठूलो संकटमा परेको छ।

“कमाएर घर धान्ला भन्ने आशा थियो। अहिले सबै सपना एकैचोटि टुटेजस्तो भयो,” एक आफन्तले भावुक हुँदै भने। पाँचथरको फिदिममा युवक मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले पोस्टमार्टम रिपोर्टको पर्खाइ गर्दै अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णले पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने र त्यसका आधारमा अनुसन्धानलाई निष्कर्षतर्फ लैजाने बताएका छन्।

फिदिमस्थित ग्रिन भ्याली फ्रेस हाउस (मासु पसल) मा कार्यरत २७ वर्षीय ज्ञानेन्द्र आचार्य (ज्ञानु) मृत अवस्थामा फेला परेपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको हो। मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा घटनामा संलग्न आशंकामा चार जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

डीएसपी कर्णका अनुसार पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरी २५ दिनसम्म अनुसन्धान गर्न मिल्ने व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको छ। “अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ, कानुनले दिएको समयभित्र सबै प्रमाण संकलन गरेर निष्कर्षमा पुग्ने गरी काम गरिरहेका छौं,” उनले केन्जोखबरसँग भने।

प्रहरीका अनुसार ज्ञानेन्द्र गत चैत १५ गतेदेखि हराइरहेका थिए। चैत १७ गते उनका बुवा र पसल सञ्चालकले संयुक्त रूपमा प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। खोजतलासकै क्रममा चैत २२ गते फिदिमस्थित साहुको पुरानो घरको बन्द कोठामा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो।

घटनास्थलको अवस्था अत्यन्तै रहस्यमय देखिएको प्रहरीले जनाएको छ। कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाइएको थियो भने पछाडिको झ्याल भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो।  डीएसपी कर्णले कर्तव्य ज्यान जस्तो गम्भीर घटनामा कुनै मिलापत्र सम्भव नभएको स्पष्ट पारे। “प्रमाणका आधारमा मात्रै अनुसन्धान अघि बढ्छ,” उनले बताए। घटनाले गाउँ नै स्तब्ध बनाएको छ। स्थानीयवासीले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

स्थानीय सुन्दर आचार्यले घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। “निष्पक्ष अनुसन्धान भएर दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्छ,” उनले भने। अर्का स्थानीय विकास काफ्लेले पनि सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए। “यस्ता घटना फेरि नदोहोरोस् भनेर वास्तविकता सार्वजनिक हुनु जरुरी छ,” उनले प्रतिक्रिया दिए। जिल्ला प्रहरी कार्यालय पाँचथरले पोस्टमार्टम रिपोर्ट, बयान तथा प्राविधिक प्रमाणका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिने जनाएको छ। अहिले सबैको नजर त्यही रिपोर्टमा केन्द्रित छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments