Home गृहपृष्ठ प्रधान सेनापति सिग्देलद्वारा अन्तिम पूर्वाभ्यासको निरीक्षण 

प्रधान सेनापति सिग्देलद्वारा अन्तिम पूर्वाभ्यासको निरीक्षण 

0
प्रधान सेनापति सिग्देलद्वारा अन्तिम पूर्वाभ्यासको निरीक्षण 


काठमाडौँ। 

नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा सोमबार  सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८१ को अन्तिम पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले पूर्वाभ्यास कार्यक्रमको  सोमबार  निरीक्षण गरेका छन् ।

 उक्त कार्यक्रममा उनले श्री चरक वाहिनीलाई युनिट झन्डा प्रदान र केन्द्रीय तहको युद्धकार्य तयारीपन निरीक्षण-२०८१ मा सर्वोत्कृष्ट भएको श्री मध्य पूर्वी पृतनालाई पुरस्कृत गरे । सो अवसरमा उनले प्रकृति संरक्षण ट्रफि प्रतियोगिता अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री नयाँ गोरख गण र ढोरपाटन सिकार आरक्ष सुरक्षार्थ तैनाथ श्री देवीबक्स गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।  

त्यस अवसरमा प्रधान सेनापतिले सेना दिवस-२०८१ को उपलक्ष्यमा प्रधान सेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुका साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

कार्यक्रममा प्रधान सेनापतिले अवकाश पश्चात् पनि विभिन्न तवरबाट समाजमा पुर्‍याएको योगदानको कदर स्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गरेका थिए । 

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस-२०८१ फाल्गुण १४ गते महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । सो कार्यक्रममा नेपाली सेनाका साथै संयुक्त राज्य अमेरिका, बेलायत र भारतीय सेनाका व्याण्ड टोलीबाट संयुक्त साङ्गीतिक प्रस्तुति हुनेछ ।