Skip to main content

Rd Creation

बराहक्षेत्रमा लायन्सको पहिलो संयुक्त जोन बैठक सम्पन्न, सदस्यता विस्तारदेखि स्वास्थ्य, शिक्षा र सामुदायिक विकासका सेवा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता

बराहक्षेत्र, साउन ३।

Advertisements

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट 325–C नेपालको चालु कार्यकालअन्तर्गत जोनस्तरीय पहिलो संयुक्त बैठक लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जारको आयोजनामा बराहक्षेत्रस्थित चुवालुङ होटलमा सम्पन्न भएको छ।

बराहक्षेत्रस्थित चुवालुङ होटलमा सम्पन्न लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट 325–C अन्तर्गत जोनस्तरीय पहिलो संयुक्त बैठकमा सहभागी पदाधिकारी तथा अतिथिहरू।

बैठकको अध्यक्षता जोन चेयरपर्सन लायन अभिषेक कार्कीले गर्नुभएको थियो। कार्यक्रममा लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जार, लायन्स क्लब अफ डाइमेन्की सप्तकोसी, लायन्स क्लब अफ झुम्का तथा लायन्स क्लब अफ रामधुनीका अध्यक्ष, सचिव र पदाधिकारीहरूको सहभागिता रहेको थियो। साथै बुद्धिजीवी, शिक्षक, व्यवसायी, समाजसेवी तथा लायन्सकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा सहभागी चारवटै क्लबका अध्यक्ष तथा सचिवहरूले गत कार्यकालका गतिविधि, प्रगति विवरण, चालु वर्षका सेवा कार्यक्रम तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। सदस्यता विस्तार, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा मानवीय सेवाका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रममा लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जारका प्रथम उपाध्यक्ष लायन प्रदीप बासमैतले बराहक्षेत्र धर्तीको पहिलो तीर्थस्थल भएकाले नगरको धार्मिक तथा पर्यटकीय पहिचानलाई थप प्रवर्द्धन गर्न स्वागतद्वार, स्मारक स्तम्भ तथा अन्य सार्वजनिक संरचना निर्माणका लागि लायन्स क्लबले दीर्घकालीन योजना बनाई स्थानीय सरकारसँग सहकार्य गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी लायन्स क्लब अफ डाइमेन्की सप्तकोसीले स्थानीय दाहसंस्कार स्थलमा श्रद्धाञ्जली सभा तथा अन्त्येष्टिमा सहभागी हुने नागरिकको सुविधाका लागि फलैँचा निर्माण गर्ने प्रस्ताव बैठकमा पेश गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि GAT District Coordinator लायन भोजराज दाहालले लायन्स क्लबको मूल मन्त्र “We Serve (हामी सेवा गर्छौं)” लाई व्यवहारमा उतार्दै समाजको आवश्यकता पहिचान गरी दिगो तथा प्रभावकारी सेवा परियोजना सञ्चालन गर्न सबै क्लबलाई आग्रह गर्नुभयो। उहाँले बैठकमा विभिन्न क्लबबाट प्रस्तुत भएका प्रस्तावहरू समुदायको हितमा रहेको उल्लेख गर्दै ती प्रस्तावहरूलाई सम्बन्धित तहमा छलफलका लागि अघि बढाइने बताउनुभयो। बैठकमा उठेका जिज्ञासा, सुझाव तथा योजनाहरू कार्यान्वयनयोग्य र उदाहरणीय रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया पूरा गरी सम्भव भएका कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी एरिया चिफ लायन दुर्गा पौडेल, डिस्ट्रिक्ट चिफ लायन सुनिल साह, एरिया कोअर्डिनेटर लायन भूपराज पुरी तथा जोन चेयरपर्सनहरू पदमकुमार लगेली, दुर्गानन्द दास, डम्बरबहादुर बस्नेत र नारायण सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै लायन्स क्लबले समुदायमा उदाहरणीय सामाजिक सेवा गर्दै आएको उल्लेख गर्नुभयो। उहाँहरूले आगामी दिनमा लायन्सको नीति, नियम र उद्देश्यअनुसार सेवा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

बैठकले चालु वर्षका सेवा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, क्लबहरूबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउने तथा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दृष्टि संरक्षण, युवा सशक्तीकरण, विपद् व्यवस्थापन र सामुदायिक विकासका क्षेत्रमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको समापन गर्दै लायन्स क्लब अफ बराहक्षेत्र कालाबञ्जारका अध्यक्ष लायन विनोद चौधरीले सहभागी सम्पूर्ण अतिथि तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। बैठकले अर्को संयुक्त जोन बैठक लायन्स क्लब अफ रामधुनीको आयोजनामा गर्ने निर्णय समेत गरेको छ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.