Thursday, April 23, 2026
spot_img
Homeगृहपृष्ठबिराटनगरमा छोराद्वारा बुबाको हत्या

बिराटनगरमा छोराद्वारा बुबाको हत्या

विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईमा शनिबार राति छोराले आफ्नै बाबुको हत्या गरेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार ५४ वर्षीय विको सहनी मुखियाको हत्या भएको हो। माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियाले बाबु विकोको हत्या गरेको जानकारी उनले दिए।

स्थानीय बासिन्दाका अनुसार विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे। राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेपछि रविले बन्द गर्न आग्रह गरेको विषयलाई लिएर बाबु र छोराबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ।

धकेल्दा घरको बेरा लगाएको बाँसको भाटामा विको ठोक्किएर घाइते भएका थिए। उनको घाँटीमा भाटाले छेडेको चोट छ। घाइते अवस्थामा उपचारका लागि कोसी अस्पताल पुर्‍याइएका विकोलाई राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी राईले दिए। घटनास्थल वरपर रगत लतपतिएको छ।
घरमा विकोको जेठो छोरा लेटु सहनी मुखिया ज्वरो आएर बिरामी परेका थिए। उनलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएको थियो। जेठो छोरालाई लिन आएको एम्बुलेन्समै राखेर माइलो छोरासँगको झगडामा घाइते भएका विकोलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

छोराले हत्या गरेका विको सहनी मुखियाको घर।

विकोका तीन छोरामध्ये जेठो र माइलो माछा मारेर परिवार चलाउँथे। कान्छो छोरा बब्लु बिस्कुट उद्योगमा काम गर्छन्। छोराहरु विको र उनकी पत्नी सुम्नी सहनी मुखियाबाट अलग भएर आआफ्नै घरमा बस्थे। विको र पत्नी सुम्नी पनि अलगअलग बस्दै आएको खुलेको छ।

अलगअलग बस्ने भए पनि परिवारका सबै जनाको घरको साँध र सिमाना भने जोडिएको छ। घटना भएका बेला विकोका जेठो र कान्छो छोरा पनि घरमै रहेको खुलेको प्रहरीको भनाइ छ। घटनापछि उनका माइलो छोरा रवि फरार बनेका छन्। उनको खोजी तीव्र पारेको प्रहरीले कान्छो र जेठो छोरालाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

विकोकी पत्नी सुम्नीले विगतमा बाबु र छोराबीच कुनै पनि विवाद नरहेको सुनाइन्। ‘पसल खुला राखेको विषयमा बाबु र छोराबीच विवाद भयो’, उनले भनिन्, ‘त्यसपछि छोरासँग धकेलाधकेल हुँदा लडेर घाइते हुनु भएका बाबुको पछि मृत्यु भयो भन्ने खवर आयो।’ डीएसपी राईले मदिरा सेवनका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। उनका अनुसार घटना भएका बेला बाबु र छोरा दुवै जनाले मदिरा सेवन गरेको पनि खुलेको छ। अन्नपूर्ण पोस्टबाट साभार

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments