पाँचथर । शुक्रबार रातिपरेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरको हिलिहाङ गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुगेको छ। बाढीपहिरोका कारण निजी तथा सार्वजनिक संरचनामा नोक्सानी हुनुका साथै केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिशकुमार कर्णका अनुसार हिलिहाङ गाउँपालिका–५ स्थित सुभाङ खोलामा आएको बाढीले तमोर करिडोर सडकखण्डमा एपेक्स कम्पनीले बालुवा–गिटी सञ्चालनका लागि राखेको क्रसर उद्योगका सम्पूर्ण सामग्री बगाएको छ।


बाढीपहिरोको जोखिम बढेपछि हिलिहाङ गाउँपालिका अन्तर्गत आठ वटा घर उच्च जोखिममा परेका छन्। जोखिममा परेका घरमध्ये हिलिहाङ–५ का सर्णकुमार केरुङको पाँच सदस्यीय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको डीएसपी कर्णले जानकारी दिए।

उनका अनुसार हिलिहाङ–५ स्थित सिजेनफुङ खानेपानी आयोजना, पदालुङ अलैँची तथा कृषि फार्मको खानेपानी प्रणाली तथा एक व्यक्तिगत खानेपानी पाइपलाइन गरी तीनवटा खानेपानी आयोजनाका मुहान र पाइपमा क्षति पुगेको छ। साथै, अमले सिरान सिँचाइ कुलो र सिजेनफुङ–आम्बोटे सिँचाइ कुलोको मुहान तथा कुलो संरचनामा पनि बाढीले नोक्सानी पुर्याएको छ।
यस्तै, हिलिहाङ गाउँपालिका–४ निवासी विष्णुप्रसाद चापागाईले पालेका ६९ वटा स्थानीय कुखुरा बाढीले बगाएको प्रहरीले जनाएको छ।

हालसम्म कुनै मानवीय क्षति वा अन्य चौपायाको क्षतिको विवरण प्राप्त नभएको डीएसपी कर्णले बताए। प्रभावित क्षेत्रमा प्रहरी, स्थानीय तह र सरोकारवाला निकायले क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनको काम गरिरहेका छन्।




