पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ सत्तेरूपामा जन्मी हुर्कीएका निर्देशक नवीन चौहानले आफ्नो डेब्यु चलचित्र ऊनको स्वीटर बाटै राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा उक्त फिल्मले उत्कृष्ट फिल्मसहित तीन वटा महत्वपूर्ण अवार्ड जित्दै चौहानलाई पहिलो फिल्ममै ठूलो उपलब्धि दिलाएको हो।
उक्त समारोहमा फिल्मकी कलाकार मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन् भने निर्देशक चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे। पहिलो फिल्मबाटै यस्तो प्रतिष्ठित सम्मान पाउँदा उनी भावुक बनेका छन्।
पुरस्कारपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै चौहानले बाल्यकालमै सत्तेरूपा गाउँमा देखेको सिनेमा बनाउने सपना आज राष्ट्रिय स्तरमा पुरा भएको बताएका छन्। उनले आफ्नो यात्रा डर, उत्साह र अनिश्चितताबाट सुरु भए पनि इमान्दार कथाले कहिल्यै हार नमान्ने विश्वास आफूमा रहेको उल्लेख गरेका छन्।
“पाँचथरको सत्तेरूपा गाउँमा कलिला आँखाले देखेको लगभग असम्भव जस्तो एउटा सपना थियो, सिनेमा बनाउने सपना,” चौहानले लेखेका छन्। उनले चलचित्र प्रदर्शनको सुरुवाती दिनमा पनि भविष्यको यात्रा अनिश्चित भए पनि दर्शकले कथालाई आफ्नै बनाएपछि सफलता सम्भव भएको बताएका छन्।
चौहानले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धि मात्र नभई आफ्नो गाउँ, परिवार, चलचित्र टिम र दर्शकहरूको साझा सफलताका रूपमा व्याख्या गरेका छन्। “यो सम्मान कुनै एक व्यक्तिको होइन, त्यो गाउँको हो जहाँ मैले सपना देख्न सिकेँ,” उनले उल्लेख गरेका छन्।
उनले थप्दै लेखेका छन्, “आज पनि धेरै बोल्न मन छैन। बस यत्ति भन्न मन छ ।सपनाहरू देखिरहनुहोस्, कहिलेकाहीँ जीवनले तिनलाई कल्पना गरेभन्दा धेरै सुन्दर ढंगले पूरा गरिदिन्छ।”
सत्तेरूपामा जन्मी हुर्कीएका चौहानको यात्रा आज राष्ट्रिय चलचित्र पुरस्कारसम्म पुगेको छ, जसले नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका सर्जकहरूको सम्भावनालाई थप उजागर गरेको छ।




