काठमाडौँ । सांसदहरूले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गराई विद्यालयमा फर्किने वातावरण बनाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले शिक्षकका माग सम्बोधनबारे दबाब सृजना गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भर्त्सना गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाए ।
सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेकाे छ ? उनको प्रश्न छ । उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको भन्दै वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम मात्र गरिरहेको आरोप लगाए ।
उनले भने, ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो । आन्दोलन गरिरहेका शिक्षकहरुमाथि पानीको फोहोरा हान्दा दर्जनौं शिक्षकहरु घाइते हुनुभएको छ । र आज अस्पतालमा उपचार गरिरहनु भएको छ । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? यसको म भत्सना गर्न चाहन्छु । संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको देशको आवश्यकता र समयलाई मध्यनजर गर्दै नयाँ शिक्षा ऐन बनाउनुपथ्र्यो । पुराना ऐन र कानूनहरुकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनान बाधा अड्चनहरु भइरहेको छ । यस्तो बेलामा शिक्षककाम मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने, धोका दिने काम भइरहेको छ ।’

सत्तारूढ नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताए । उनले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आईतवार अकस्मात बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गरे ।
सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उनले सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अग्रसर बन्न सरकारलाई सुझाव दिए ।

बडूले भने, “२७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा हिजो १४ गतेका दिन अकस्मात दुवैतर्फबाट बल प्रयोगको अवस्था सिर्जना हुनु दुःखद् छ । लज्जास्पद पनि छ । उपचाररत सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको काम गर्न चाहन्छु । जन निर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी छ । यसरी सरकार दमन गर्नतर्फ होइन, सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अविलम्व अग्रसर बनोस् । प्रश्तावित विद्यालय शिक्षा विधेयक अभिलम्ब संसद्मा प्रस्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था छ ? संसदमा जानकारी गराउनका लागि समेत म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”
सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको जवाफ माग गरे । उनले संसद र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा शिक्षामन्त्रीले जानकारी दिनुपर्ने बताए । । शिक्षकको आईतवारको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको पनि उनले बताए ।
थापाले भने, ‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहान्छु, यस्तो हुनु नपर्ने हो । प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन् । राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् या जेसुकै होस्, यस्तो गर्नु दुःखद हो । यस्तो गर्नु उचित होइन ।’
राप्रपाकी सांसद रोशन कार्कीले पनि सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गरिन् । आईतवारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाउनु दुःख रहेकाे उनकाे भनाइ छ ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाए । विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ । उनले शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग राखे ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ १२:५३