इलाम । इलाम जिल्लाको सूर्योदय नगरपालिका–११ स्थित तीनघरे बजारबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा मे ८ प ७८६९ नम्बरको मोटरसाइकल चालक भुवन राय र मोटरसाइकलको पछाडि सवार सञ्जु तामाङ रहेका छन्। भुवन राय फिदिम–१, पाँचथरका ३१ वर्षीय हुन् भने सञ्जु तामाङ फिदिम–१, पाँचथरका ३६ वर्षीय हुन्।
प्रहरीले नियमित चेकजाँचका क्रममा उनीहरू सवार मोटरसाइकल रोकी खानतलासी गर्दा रेनकोटको झोलाभित्र कालो प्लास्टिकमा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको थियो। बरामद गरिएको उक्त पदार्थको तौल १६ ग्राम ८९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




