पोखरा । ब्याण्डहरुको राजधानी पोखरामा ‘ब्याक टु नाइन्टिज्’ अर्थात् बिरासतलाई फर्केर हेर्दा कार्यक्रम अभूतपूर्वरुपमा सफल भएको छ । साथै, पोखरेली दर्शक–स्रोतको वर्षौदेखिको लोकपपको प्यास मेटियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठान सहकार्यमा पोखरा सांगीतिक कलाकार संघ नेपालले पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भव्य स्टेजमाझ पोखरेली चर्चित ७ ब्याण्डहरु एकै स्टेजमा उतार्ने जमर्को गरेको हो । करिब ५ घण्टासम्म चलेको सांगीतिक कार्यक्रमलाई दर्शकले अपार साथ दिए । मानवसागर यसरी उर्लियो कि भीडका कारण केही समयसम्म प्रवेश रोक्नुपर्ने अवस्था आयो । सातैवटै ब्याण्डले आफ्ना चर्चित तीन÷तीन गीत प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाए ।
खासमा सन् १९९० दशकमा उदाएका पोखरेली ब्याण्डले नेपाली गीतसंगीतमा एकछत्र राज गरेका थिए । लोकपप शैलीका धून सञ्चार गर्ने ती ब्याण्डका सदस्यहरु समयक्रमसँगै तितरबितर भए । समय, परिस्थिति, घटना, परिवेशका कारण ब्याण्डका सदस्यहरुमध्ये अधिकांश विदेश पलायन भए । र, ब्याण्डहरु सुस्ताए । तर, त्यतिबेला जन्मिएका झण्डै दुई दर्जन ब्याण्डले नेपाली सांगीतिक क्षेत्रमा जे–जति योगदान दिए, त्यो बिरासत झट्टै बिर्सन सकिँदैन । ३० वर्षअघि मुखमुखमा झुण्डिने ती लोकपप गीतले अझै कालजयी छन् ।
कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ) को प्रस्तुति रहेको थियो । कर्णदासले ‘मध्यान्ह’ तर्फबाट ‘जिन्दगीको के भरोसा’, ‘कन्दरा’ का विवेक श्रेष्ठले ‘तगारोमा रुमाल राखी’, ‘डिमर्चा’का भाष्करध्वज श्रेष्ठले ‘झ्याम्म झ्याम्म’, ‘देउराली’ का शान्त बज्राचार्यले ‘ढुंगेसाँघुको मेलैमा’, ब्रोसिसका प्रकाश रानाले ‘चाइना कम्पनी’, ‘भेगाबोण्ड’ का श्यामसुङ तामाङले ‘यो जिन्दगानी’ र लेकाली ब्याण्डका नवीन गुरुङ र हर्कराज गुरुङ ‘भाइ’ ले ‘यो मुटुमा लौन’ लगायत गीत गाएर दर्शक–स्रोतालाई नचाए । कालजयी गीतले पोखराको चिसो रात खुबै गर्मायो । र, पटकपटक वान्स मोर मागिरह्यो । कार्यक्रम हेर्न केटाकेटी, युवायुवती तथा वृद्धवृद्धासम्म गरी करिब ३० हजार जना दर्शक आएको आयोजकको दाबी छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले क्यासेट प्लेयर अन गरी कार्यक्रम शुभारम्भ गरेका थिए । मूल आयोजक समिति संयोजकसमेत रहेका गण्डकी प्रज्ञा–प्रतिष्ठान सदस्यसचिव मनकुमार श्रेष्ठले कलाकार, दर्शक र सहयोगी सबैलाई धन्यवाद दिए । ‘पोखरामा यस्तो कार्यक्रम न पहिले भएको थियो, न अब हुनेछ,’ उनले भने ।
पोखरामा ब्याण्डहरुको बिरासत फर्काउन यो कार्यक्रम कोशेढुंगा सावित भएको आयोजक संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) बताउँछन् । प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले गीतसंगीत माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै अहिले देखिएको निराशा हटाउन र आशाको धुन सञ्चार गर्न सफल भएको प्रतिक्रिया दिए ।
The post पोखरेली ब्याण्ड वर्षौपछि एकै मञ्चमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….




