बुटवल । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले सोमबार जोशीलाई थुनामा पठाउने आदेश दिएको हो ।
अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जोशीलाई थुनछेक बहसपछि न्यायाधीश घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको बताए । उनले पछि ठहरेबमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको बताए । प्रतिवादीले जानीजानी कसुर नगरेको आधार नदेखिँदा हाललाई थुनामा राख्नु भन्ने आदेश भएको उनले बताए ।
बुटवलमा सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि जोशी आफैं अदालतमा उपस्थित भएका थिए । यसअघि उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए । जोशीविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ ।
सुप्रिम सहकारी मुद्दामा पूर्वडीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी)राईलगायतलाई प्रतिवादी बनाइएको छ । रूपन्देही जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई भने यसअघि नै १ करोड रुपैयाँ धरौटी लिएर तारिखमा छाडेको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी अभियोगमा ६ माघमा ३९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक लामिछाने, पूर्वडीआईजी जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
गत ३ वैशाखमा अदालतमा पेस भएको मूल अभियोगपत्रबाट २८ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता भइसकेको छ । गत ३ माघमा अदालतमा पेस भएको थप अभियोगपत्रबाट प्रतिवादी कायम भइसकेका २८ जनामध्ये दिनेश रोक्काविरुद्ध सम्पत्ति शुद्धीकरण र अन्य १६ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।
पूरक अभियोगपत्रबाट २८ जनामध्ये आठ जना कायम भइसकेका प्रतिवादी र रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जना नयाँ प्रतिवादीविरुद्ध पनि सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको थियो ।
दर्ता भएको पूरक अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा आबद्ध रहेका लामिछाने, जोशी, गितेन्द्रबाबु (जिबी), कर्मचारी लक्ष्मीप्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको थियो । यी चारै जनाबाट कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
मूल अभियोगपत्रबाट २८ जना उपर दर्ता भएको सहकारी ठगी मुद्दामा २८ जना प्रतिवादीसँग ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
त्यस्तै, थप अभियोगपत्रबाट १७ जना प्रतिवादीसँग २ करोड ७ लाख ९४ हजार ५ सय ४० रुपैयाँ र पूरक अभियोगपत्रबाट २२ जना प्रतिवादीसँग ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४१ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
हालसम्म सहकारीको रकम ठगी गरेको अभियोगमा कुल ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा १ हजार ९ सय ३ जना बचतकर्ता छन् भने १ हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका थिए ।
(Visited 14 times, 1 visits today)




