
तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि उचालेको हो।
मच्छिन्द्रले खेलको पहिलो हाफमै अग्रता लिएको थियो। खेलको २९औं मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि मच्छिन्द्रले १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि मच्छिन्द्रले खेलमा पकड कायमै राख्यो। ७२औं मिनेटमा स्टेफाने जालीले गोल गर्दै टिमको जित सुनिश्चित गरे।
फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा रंगशाला पुगेका थिए। खेलको विशेष अतिथिका रूपमा इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन उपस्थित थिए।
रंगशाला दर्शकले खचाखच भरिएको थियो भने खेलअघि कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप यही फागुन ११ गतेदेखि सुरु भएको थियो। मच्छिन्द्रले यसअघि पहिलो संस्करणमा सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै उपाधि जितेको थियो।
दोस्रो संस्करणमा पनि मच्छिन्द्रले न्यूरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको थियो।
यो जितसँगै मच्छिन्द्र फुटबल क्लब केपी ओली कपको ह्याट्रिक च्याम्पियन बन्न सफल भएको छ।




