प्रधानमन्त्री ओलीले व्यक्त गरे भ्रष्टाचारविरुद्ध सरकारको दृढ प्रतिबद्धता

Rd Creation

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको उल्लेख गर्दै आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने स्पष्ट पारे।

केही मान्छेले प्रधानमन्त्रीको आलोचना गर्ने खालको फेसन बनाएको भन्दै हल्ला गरेकै भरमा छानविन नहुने पनि उनले बताए।

प्रधानमन्त्री ओलीले भने, "म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ र प्रतिबद्ध छौं। यद्यपि केही मान्छेहरूको फेसन हुने गर्छ प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाइ नहुने। तिनीहरू कहिले पशुपतिमा पित्तल चलायो भनेर हल्ला गर्छन्। अहिले पनि छानविन होस् भनेर कराउँछन्। त्यस्ता कुराहरूमा म वास्ता पनि गर्दिन चित्त पनि दुखाउँदिन। कसैको व्यवहारको कुरामा म धेरै गइरहन चाहन्न। तीनै तहको सरकारमा रहेका कुनैपनि व्यक्तिहरू कानूनको दायराभन्दा बाहिर छैनन्। कहीँकतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ।"

उनले भ्रष्टाचारमा संलग्नहरूमाथि सरकार असहिष्णुका साथ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए।


यो समाचार बुधवार प्रतिनिधि सभाको बैठकमा दिइएका भनाइहरूमा आधारित छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया