दमक, झापा — नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका साझा मुद्दामा सबै राजनीतिक दलहरू एकताबद्ध भएर उभिनुपर्ने आवश्यकता रेखाङ्कित गरेका छन्।
नेपाल किसान महासङ्घ कोशी प्रदेश समितिको दमकमा आयोजित प्रथम प्रादेशिक अधिवेशनको उद्घाटन गर्दै उनले देशको परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिहरू संस्थागत गरी सुशासन र समृद्धिको दिशामा अग्रसर हुन ठूला राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
नेता सिटौलाले देशको मुख्य आर्थिक आधार कृषि भए तापनि यसले लक्ष्य अनुरूप प्रतिफल दिन नसकेको उल्लेख गर्दै नेपाली कृषिलाई "निर्वाहमुखी" बाट "व्यावसायिक र औद्योगिक" रूपमा विकास गर्नुपर्ने जोड दिए। उनको भनाइलाई कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले पनि समर्थन गर्दै कृषिलाई उद्यमीकरण गर्नुपर्ने माग राखे।
कांग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराईले कृषकहरूका मुद्दा उठाउने एकमात्र पार्टी नेपाली कांग्रेस नै भएको दाबी गर्दै हाल पार्टीले यस विषयमा ध्यान नदिँदै गएको आक्षेप लगाए।
संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले नेपाल कृषि प्रधान मुलुक भए पनि विदेशबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए।
यस अवसरमा कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो, झापा जिल्ला सभापति देउकुमार थेवे, सुनसरी जिल्ला सभापति केदार भण्डारी, कांग्रेस झापा क्षेत्र नं. ५ का सभापति ढुण्डीराज भण्डारी, नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य सीताराम भट्टराई लगायत उपस्थित थिए।
अधिवेशनले आज नै नयाँ नेतृत्व चयन गर्नेछ।