अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालन हुने ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम अन्तर्गत पाँचथर जिल्लाका २७ विद्यालय छानिएका छन्। यी विद्यालयहरूलाई प्रत्येकलाई २० वटा फुटबल उपलब्ध गराइनेछ।
एन्फाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा यस कार्यक्रमको औपचारिक शुभारम्भ साउन १५ गते काठमाडौंको दशरथ रंगशालामा गरिने बताएको छ। फिफा र युनेस्कोको सहयोगमा संचालित यस कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासलाई बढावा दिने लक्ष्य राखेको छ।
देशभर १ हजार ७२ विद्यालय लाभान्वित
यस अन्तर्गत देशभरका ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा कुल ३२ हजार ६४० वटा फुटबल वितरण गरिनेछ। कार्यक्रमले विद्यार्थीहरूलाई फुटबल मार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीपहरू सिकाउने उद्देश्य राखेको छ।
पाँचथरका छानिएका विद्यालयहरू
पाँचथरबाट छानिएका विद्यालयहरूमा श्री रानीटार माध्यमिक विद्यालय, श्री सत्यहाङ्मा माध्यमिक विद्यालय, श्री सिद्धा देवी माध्यमिक विद्यालय, श्री कालिका आधारभूत विद्यालय, फिदिम माध्यमिक विद्यालय, श्री घुर्बेसी पञ्चमी मावि, श्री सरस्वती माध्यमिक विद्यालय लगायतका २७ विद्यालय रहेका छन्।
शिक्षक तालिम पनि
कार्यक्रम अन्तर्गत विद्यालयहरूलाई फुटबल सामग्री वितरण गर्नुका साथै शिक्षक र प्रशिक्षकहरूलाई पनि तालिम दिइनेछ। एन्फाले यो कार्यक्रम सबै वर्ग, जाति, लिङ्ग र भूगोलका बालबालिकालाई समावेशी बनाइएको बताएको छ। विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकास गर्ने अपेक्षा राखिएको छ।