काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्ष पदमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। भदौ ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने संघको निर्वाचनमा उनी ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि’ भन्ने नाराका साथ उतिरेका छन्।
शेर्पाले आफ्नो उम्मेदवारीमा निम्न प्रतिबद्धताहरू राखेका छन्:
1. माउन्टेन टुरिजम युनिभर्सिटी स्थापना: नेपालमै पर्वतारोहण र साहसिक पर्यटनको उत्कृष्ट अध्ययन केन्द्र खोल्ने।
2. आरोही कल्याण कोष: सरकारसँग समन्वय गरी आरोहीहरूको सुरक्षा र आपत्कालीन सहयोगका लागि कोष स्थापना गर्ने।
3. अन्तर्राष्ट्रिय स्तरको रेस्क्यू टिम: हिमाली क्षेत्रमा स्थानीय स्तरमै उद्धार दल गठन गरी तालिम र उपकरण उपलब्ध गराउने।
4. हिमाल संरक्षण: जलवायु परिवर्तनले गर्दा हिमाली क्षेत्रमा पर्ने प्रभावलाई कम गर्न स्थानीय सहभागितामा आधारित योजना लागू गर्ने।
5. विश्वकीर्तिमानी आरोहीहरूलाई सम्मान: नेपाली विमानस्थलहरूमा विशेष सुविधा उपलब्ध गराउने।
शेर्पाले भने, "हामीसँग संसारका सबैभन्दा अग्ला हिमालहरू छन्, तर हामीले यसको पूरै फाइदा लिन सकेका छैनौं। यदि नेपालमै माउन्टेन टुरिजम युनिभर्सिटी खोल्यौं भने विदेशी विद्यार्थीहरू पनि यहाँ आउनेछन्।"
उनले हिमाली क्षेत्रका स्थानीयहरूलाई रेस्क्यू ट्रेनिङ् दिएर रोजगारी सृजना गर्ने, साथै जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन सामुदायिक सहयोग बढाउने योजना बताए।
फुर गेल्जे शेर्पा को हुन्
सोलुखुम्बुको खुम्बु पासाङल्हामु निवासी शेर्पा पर्वतारोहण क्षेत्रमा तीन दशकदेखि सक्रिय छन्। उनले ६,००० मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका छन् र संघको विदेश विभाग प्रमुखको रूपमा पनि काम गरिसकेका छन्। उनी साहसिक पर्यटन व्यवसायी पनि हुन्।