पाँचथर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत पाँचथर जिल्लाका ८ वटै स्थानीय तहलाई करिब १४ करोड १६ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ । समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानअन्तर्गत वितरित यो रकम जिल्लाको कृषि, पर्यटन, शिक्षा, सामाजिक सुरक्षा र भौतिक पूर्वाधार विकासमा खर्च गरिने भएको छ ।
प्रदेश सरकारले स्थानीय तहको आवश्यकता अनुसार बजेट विनियोजन गरेको हो । जिल्लाका ८ पालिकामध्ये फिदिम नगरपालिकाले सबैभन्दा बढी ३ करोड १६ लाख र मिक्लाजुङ गाउँपालिकाले सबैभन्दा कम १ करोड २६ लाख अनुदान पाएका छन् ।


पालिकागत अनुदान विवरण
तालिका हेर्दा फिदिम नगरपालिका (३.१६ करोड) र फालेलुङ गाउँपालिका (२.३७ करोड) ले बढी अनुदान पाएका छन् भने मिक्लाजुङ गाउँपालिका (१.२६ करोड) सबैभन्दा कम पाएको छ । तुम्बेवा र कुम्मायक गाउँपालिकाको बजेट मुख्यतया सडक पूर्वाधारमा केन्द्रित छ, जबकि अन्य पालिकाको बजेट कृषि, पर्यटन, शिक्षा र सामाजिक क्षेत्रमा केन्द्रित छ ।

फिदिम नगरपालिकालाई ३ करोड १६ लाख
जिल्लाको एकमात्र नगरपालिका फिदिम नगरपालिकाले सबैभन्दा बढी ३ करोड १६ लाख १४ हजार ९ सय ९९ रुपैयाँ पाएको छ । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा र सामाजिक क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
कृषि क्षेत्रमा चिया प्रवर्द्धन, प्राङ्गारिक तथा जैविक मल अनुदान, उन्नत गाईभैंसी वितरण र पशुपन्छी खोप कार्यक्रम राखिएका छन् । पर्यटनतर्फ TTDP (ट्रेकिङ ट्रेल डेभलपमेन्ट प्रोजेक्ट) अन्तर्गत विभिन्न पदमार्ग निर्माण, सुकेपोखरी गुराँस महोत्सव, साकेला/सिली नाच प्रवर्द्धन, रैथाने खाना महोत्सवजस्ता कार्यक्रम छन् । त्यस्तै, साँखे होइखोलिङ गोम्पा, तिजुक डाँडा, पौवा भञ्ज्याङ पदमार्ग र खलाटार ऐतिहासिक पोखरी निर्माण गरिने छ ।

शिक्षा क्षेत्रमा अपाङ्गता रोकथाम, सामुदायिक क्याम्पस, महिला नेतृत्व विकास, पाँचथर टे«वान्दो, फेमेवा खेलमैदान, मगर साँस्कृतिक संग्रहालय, विभिन्न माविहरूको पूर्वाधार निर्माण र डिजिटल सिकाइ सामग्री अनुदान कार्यक्रम राखिएका छन् । लैङ्गिक हिंसा नियन्त्रणका लागि संरक्षण कोषमा समेत बजेट छुट्याइएको छ ।
फालेलुङ गाउँपालिकालाई २ करोड ३७ लाख
फालेलुङ गाउँपालिकाले २ करोड ३७ लाख ९० हजार रुपैयाँ पाएको छ । कृषितर्फ गोठ सुधार चुलो, हाते कागज उद्योग, िचया रोलर मेसिन, कफी खेती, खोरेत रोग नियन्त्रण र पशु विकास कार्यक्रम राखिएका छन् । पर्यटनतर्फ नरेलुङ मन्दिर मर्मत, उगेन छोपेलिङ गुम्बा, पर्यटक विश्रामघर निर्माण, TTDP पदमार्ग र चौरी महोत्सव आयोजना गरिने छ । शिक्षातर्फ सिंह वाहिनी मावि, भलवल कभर्ड हल, याथुङ यक संग्रहालय, सरस्वती मावि लगायतका पूर्वाधार निर्माण र डिजिटल सिकाइ सामग्री अनुदान कार्यक्रम छन् ।
तुम्बेवा गाउँपालिकालाई १ करोड ६० लाख
तुम्बेवा गाउँपालिकाले १ करोड ६० लाख रुपैयाँ प्राप्त गरेको छ । यस पालिकाको बजेट मुख्यतः सडक पूर्वाधारमा केन्द्रित छ । योगटी भन्नाड–जालपोटवी–डुडे–जीत–लिराइभराड सडक स्तरोन्नति र बि.पी. पार्क निर्माण कार्यक्रम राखिएका छन् ।
याङवरक गाउँपालिकालाई १ करोड ५८ लाख
याङवरक गाउँपालिकाले १ करोड ५८ लाख ३१ हजार रुपैयाँ पाएको छ । कृषितर्फ मार्केटिङ उपकरण, प्राङ्गारिक मल, पशुपन्छी खोप र वृद्धि पकेट क्षेत्र कार्यक्रम छन् । पर्यटनतर्फ खान्डे–तीनकुशे–फुलवारी पदमार्ग, हिमालि सुन्दरपुर भवन र मिभिलेश्वर शिवालय निर्माण गरिने छ । शिक्षातर्फ बुद्ध मावि पूर्वाधार (लागत साझेदारी), खेलमैदान, मावि घेराबारा, थुपतेन गुम्बा, डिजिटल सिकाइ सामग्री र लैङ्गिक हिंसा नियन्त्रण कार्यक्रम छन् ।
फाल्गुनन्द गाउँपालिकालाई १ करोड ४२ लाख
फाल्गुनन्द गाउँपालिकाले १ करोड ४२ लाख ५९ हजार रुपैयाँ पाएको छ । कृषितर्फ खोरेत रोग नियन्त्रण तथा पर्यटनतर्फ TTDP पदमार्ग निर्माण, परिधि संरचना र स्थानीय खानेकुरा प्याकेजिङ कार्यक्रम छन् । शिक्षातर्फ अपाङ्गता रोकथाम, जयनारायण मावि (लागत साझेदारी), ओतामाङदिहम भञ्जन भवन, श्रीकृष्ण मावि घेराबारा, सार्वजनिक गौतमालय, इम्बुङ बहुउद्देश्यीय भवन, डिजिटल सिकाइ सामग्री र लैङ्गिक हिंसा नियन्त्रण कार्यक्रम छन् ।
कुम्मायक गाउँपालिकालाई १ करोड ४० लाख
कुम्मायक गाउँपालिकाले १ करोड ४० लाख रुपैयाँ पाएको छ । यस पालिकाको बजेट सडक पूर्वाधारमा केन्द्रित छ । फिक्कल–औलिया–मानिज्योलो–फाञ्चुबा–चौंपि बजार सडक कालोपत्रे र यासोक मदन आश्रित पिपलबोटे–भुक्ते सडक स्तरोन्नति कार्यक्रम राखिएका छन् ।
हिलिहाङ गाउँपालिकालाई १ करोड ३४ लाख
हिलिहाङ गाउँपालिकाले १ करोड ३४ लाख ३१ हजार रुपैयाँ पाएको छ । कृषितर्फ गोठ सुधार चुलो, िचया रोलर, फलफुल विकास र पशुपन्छी खोप कार्यक्रम छन् । पर्यटनतर्फ बल गणेश धार्मिक समाज र शेपा भवन किचन निर्माण कार्यक्रम छन् । शिक्षातर्फ अपाङ्गता रोकथाम, सिस्नेरी मावि (लागत साझेदारी), जोरपोखरी मावि, शिवालय आ.वि. घेराबारा, डिजिटल सिकाइ सामग्री, पढ्दै कमाउँदै, महिला उद्यमशीलता र लैङ्गिक हिंसा नियन्त्रण कार्यक्रम छन् ।
मिक्लाजुङ गाउँपालिकालाई सबैभन्दा कम १ करोड २६ लाख
मिक्लाजुङ गाउँपालिकाले जिल्लामा सबैभन्दा कम १ करोड २६ लाख ७० हजार रुपैयाँ पाएको छ । कृषितर्फ प्राङ्गारिक मल अनुदान र खोरेत रोग नियन्त्रण कार्यक्रम छन् । पर्यटनतर्फ मिडिड्यूदेन चोलुड पर्यटकीय स्थल र श्री जसमनी धर्म सेवा समिति शिवालय निर्माण गरिने छ । शिक्षातर्फ अपाङ्गता रोकथाम, सामुदायिक क्याम्पस, दुर्गा मावि (लागत साझेदारी), फाल्गुनन्द महाइडम, महायूष गुरुआश्रम, ओखरचोटे खेलमैदान, डिजिटल सिकाइ सामग्री र लैङ्गिक हिंसा नियन्त्रण कार्यक्रम छन् ।
सबै पालिकामा समान कार्यक्रम
जिल्लाका सबै स्थानीय तहमा लैङ्गिक हिंसा नियन्त्रणका लागि संरक्षण कोष, अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम, र सामुदायिक क्याम्पस अनुदानलाई अनिवार्य कार्यक्रमका रूपमा राखिएको छ । कृषि क्षेत्रमा प्राङ्गारिक मल अनुदान, पशुपन्छी खोप र खोरेत रोग नियन्त्रणलाई प्राथमिकता दिइएको छ । पर्यटन क्षेत्रमा TTDP मार्फत पदमार्ग निर्माण, साँस्कृतिक महोत्सव र धार्मिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम समावेश गरिएका छन् । शिक्षा क्षेत्रमा डिजिटल सिकाइ सामग्री, विद्यालय पूर्वाधार निर्माण र लागत साझेदारी कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ ।
प्रदेश सरकारले विनियोजन गरेको यो बजेटले पाँचथर जिल्लाका स्थानीय तहहरूको आर्थिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । विशेषगरी कृषिमा आधुनिकीकरण, पर्यटन पूर्वाधार विकास, शिक्षामा डिजिटल पहुँच र सामाजिक सुरक्षामा वृद्धिले जिल्लाको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।




