तिमीले गायौ
आँसुको अन्तिम गीत
जहाँ कोरश थपे
आकाश जस्तै निलो र शान्त
शुद्ध मन जस्तै सेतो र सफेद
करोडौं करोड धर्के वस्त्रधारीहरुले
सारा संसारलाई सुनाउँदै स्वरमा स्वर खापे
मेसी….., मेसी…..,मेसी…..
भोग्यौ कैयौं हारको पीडा,
मनायौ अजेय जीतको उत्साह
बिरलैको एउटा हारमा भक्कानियौ
गायौ एकतमास कालजयी आँसुको गीत
त्यो आँसुको गीतमा मात्र थिएन हारको पीडा
बरु त्यो गीतमा गुन्जिए
तिम्रो निम्ति दिलो ज्यान दिने
डि-पउल, ओटामेन्डी, लाउटारो र इमिलियानो मार्टिनेजहरु
गम्लङ्गै अङ्गालो हाल्दै तिम्रो काँधमा
मनको बह पोख्ने स्कालोनी गुरु….
र नै त दुनियाँले
तिम्रो आँसुको गीतमा स्वर खापी रहे
मेसी…..मेसी……मेसी………
लाग्छ त्यो आँसुको गीतमा
तिमीले नयाँ सन्तती यामल सम्झियौ
सफलताको शिखर टेकाउने बार्सालाई सम्झियौ
सम्झियौ प्राणभन्दा प्यारो आफ्नो देशलाई
र खसायौ बररर…आँसु
त्यही आँसुमा मिसिए फुटबलको नौलो पुस्ता र भने
– तिमीसङ्ग खेल्न पाउनु नै मेरो अहो भाग्य ।
पहिल्यै जितेको विश्वकपको ट्रफी पो जितेनौ त
तर जित्यौ फोक्ल्याण्ड टापु युद्धको विम्ब
भिर्यौ लगातार फाइनलमा ३ पल्ट कप्तानी ब्याच
थप्यौ सेतो निलो धर्के जर्सीमा चम्किलो तारा
जुन ताराले तिम्रो देश चम्कियो
त्यसको चमक मृत सागरदेखि सगरमाथाको उचाईसम्म छायो
र नै तिम्रो आँसुको गीतमा
ट्याङ्गो,पाटागोनिया र इगुआजुहरुमा साथ गुन्जिरहेछ
– मेसी…मेसी…..मेसी….
विश्वकपको फलैँचा र चौताराभरी बस्नेहरुले
थपे तिम्रो आँसुको गीतमा मौलिक धुन
र कविहरुले नयाँ शब्द थपे आफ्ना कवितामा
भुपिन – मेसी फुटबलको महाकवी
काङमाङ नरेश – फुटबलको महान आख्यानकार मेसी
त्यो आँसुको गीतमा
मैले पनि केही शब्दहरु खेलाएको छु
जस्तो कि फुटबलको कला र सीप मेसीको खुट्टामा छ
मित्रता, सम्मान र समर्पण
मेसीको मनमुटुमा कुँदिएको छ ।
जरुर म गुनगुनाउनेछु
मेरो सन्तान र सन्ततीसङ्ग लोरी गीत जसरी
लोककथाहरु जस्तै सुनाउनेछु
अर्मपर्म, गाई गोठालाहरुमा
केटाकेटीदेखि अल्लारे बैँस भरी हेरियो मेसीको खेल
जसबाट सिकेँ मैले जीवन जिउने कला
जानेँ हारहरुबाट नै सुरु हुन्छ सफलताका गाथाहरु
र नै प्रत्येक बिहान दैनिकी सुरु गर्नुअघि
थपिरहने छु म पनि तिम्रो आँसुको गीतमा कोरस
“मेसी……. मेसी…… मेसी…….”