बराहक्षेत्र, साउन ११। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बराहक्षेत्र नगर कमिटीद्वारा आयोजित पार्टी जागरण अभियान, अभिमुखीकरण तथा विस्तारित बैठक सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार तथा आगामी निर्वाचनलाई लक्षित गर्दै प्रभावकारी तयारीलाई तीव्रता दिने निर्णय गरेको छ।
कार्यक्रममा पार्टी जागरण अभियानका केन्द्र प्रतिनिधि चिरञ्जीवी भट्टराईले नेकपा (एमाले)ले विगतदेखि अनेकौं संघर्ष र चुनौती पार गर्दै मुलुकको विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै पछिल्लो निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी संघर्षबाट स्थापित भएको पार्टी हौँ। जनताले पछिल्लो निर्वाचनमा दिएको सन्देशलाई आत्मसात् गर्दै संगठनलाई अझ बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक छ।”
भट्टराईले पार्टी जागरण अभियानको मुख्य उद्देश्य प्रत्येक घर, टोल र बस्तीमा पुगेर जनताको गुनासो सुन्ने, त्यसलाई लिखित रूपमा अभिलेखीकरण गर्ने र सम्बन्धित निकायसम्म पुर्याउने रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा कोशी प्रदेश सदस्य तथा क्षेत्र नं. ४ का इन्चार्ज एवं इटहरी उपमहानगरपालिकाका पूर्वप्रमुख द्वारिकलाल चौधरीले पार्टीको जिम्मेवारी आवश्यकता अनुसार परिवर्तन हुने भएकाले पार्टी निर्णयलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो।
उहाँले विगतमा आफूलाई जिम्मेवारी परिवर्तन गरिएको अनुभव सुनाउँदै, पार्टीले दिएको जिम्मेवारीलाई स्वीकार गरेर अहिले क्षेत्र नं. ४ (क) मा इन्चार्जको रूपमा सक्रिय रहेको उल्लेख गर्नुभयो।
चौधरीले पार्टी जागरण अभियानको आवश्यकता औंल्याउँदै संगठन नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो। उहाँका अनुसार पार्टीका नेता तथा कार्यकर्ताले गाउँ–टोल र चौक–चौतारीमा जनतासँग नम्र, शिष्ट र जिम्मेवार व्यवहार गर्नुपर्छ।
उहाँले किसानका समस्या, जनताका गुनासा, श्रम शोषण, सार्वजनिक सरोकार र विकासका विषयमा पार्टीले सरकारसँग प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो। साथै संगठनभित्र नीति, विधि र अनुशासनको पालना हुनुपर्नेमा जोड दिँदै अवसरवाद र स्वार्थका आधारमा संगठन विस्तार गर्दा पार्टीलाई दीर्घकालीन क्षति पुग्न सक्ने चेतावनी दिनुभयो।
बराहक्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख गर्दै उहाँले यस क्षेत्रलाई ऋषिमुनिहरूले तपस्या गरेको तपोभूमि र धर्तीको पहिलो तीर्थस्थलका रूपमा वर्णन गर्नुभयो। रामायण प्रसङ्ग उल्लेख गर्दै सत्य, इमानदारी र जनताको विश्वास जित्ने मार्गमा अघि बढ्नुपर्ने सन्देश दिनुभयो। उहाँको मन्तव्यपछि सहभागीहरूले ताली बजाएर समर्थन जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि, एमालेका पूर्वकेन्द्रीय सदस्य तथा हाल कोशी प्रदेश सदस्य धर्मराज निरौलाले पार्टीले पछिल्लो निर्वाचन परिणामलाई गम्भीर आत्मसमीक्षाका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले पार्टीको हारका पछाडि आन्तरिक कमजोरीसँगै बाह्य चुनौतीसमेत रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद (जबज) को मर्मलाई अझ प्रभावकारी रूपमा जनस्तरसम्म पुर्याउन आवश्यक रहेको धारणा राख्नुभयो।
निरौलाले केन्द्रीय सचिवालयले निर्वाचन परिणामको समीक्षा र पार्टी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको स्मरण गराउँदै अब प्रत्येक वडा र टोलमा पुगेर जनताका वास्तविक समस्या सुन्नुपर्ने बताउनुभयो।
उहाँले नीति तथा संगठनात्मक कमजोरी सुधार्दै पार्टीलाई जनतासँग अझ नजिक बनाउने अभियान सफल बनाउन नगर तथा वडा कमिटीलाई गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभयो।
कार्यक्रममा समसामयिक राजनीतिक विषयमा समेत धारणा राख्दै उहाँले विभिन्न घटनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता बराहक्षेत्र नगर कमिटी अध्यक्ष सीता पौडेलले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव देवेन्द्र बिष्टले गर्नुभएको थियो। बैठकमा प्रदेश, जिल्ला, नगर तथा वडा तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि र पार्टीका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।