काठमाडौं, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवसलाई यस वर्ष काठमाडौंको खुलामञ्चमा भव्य र ऐतिहासिक रूपमा मनाउने तयारीलाई तीव्र बनाएको छ। महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने अभियानका रूपमा मनाउन लागेको जनाएको छ।
नेफिनका अध्यक्ष निमा ह्योल्मो लामाका अनुसार कार्यक्रममा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता रहने अपेक्षा गरिएको छ। उनले यो कार्यक्रमले नेपालका आदिवासी जनजातिबीचको एकता, विविधता र साझा अधिकारको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने विश्वास व्यक्त गरे।

महासंघका उपाध्यक्ष तथा प्रचार–प्रसार समितिका संयोजक अमृतबहादुर सुनुवारले यसपटकको विश्व आदिवासी दिवसलाई नेपालबाट विश्वलाई सशक्त सन्देश दिने अवसरका रूपमा लिइएको बताए। उनका अनुसार कार्यक्रम सांस्कृतिक प्रस्तुतिमात्र नभई विभिन्न जातीय समुदायका मौलिक परिकार, कला, संस्कृति र जीवनशैली प्रदर्शन गर्ने सांस्कृतिक महोत्सवका रूपमा आयोजना हुनेछ।
महासचिव विमल सारु मगरले यस वर्षको कार्यक्रमलाई नयाँ शैलीमा आयोजना गर्न खुलामञ्च रोजिएको जानकारी दिए। काठमाडौं उपत्यकामा मात्रै करिब २० लाख आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै उनले कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यसहित व्यापक तयारी भइरहेको बताए।
महासंघका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। विभिन्न जातीय सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समिति, युवा, महिला, विद्यार्थी तथा सांस्कृतिक समूहहरू तयारीमा सक्रिय रूपमा जुटेका छन्।
एकै थलोमा ५० भन्दा बढी जातिको संस्कृति
यस वर्षको विश्व आदिवासी दिवसमा नेपालका ५० भन्दा बढी आदिवासी जनजातिका मौलिक संस्कृति, कला, परम्परा र जीवनशैलीलाई एउटै स्थानमा अवलोकन गर्न सकिनेछ।
कार्यक्रममा विभिन्न समुदायका परम्परागत खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री, मौलिक हस्तकला, जातीय पोशाक, सांस्कृतिक सामग्री, बाजागाजा तथा जीवनशैली झल्किने प्रदर्शनी गरिनेछ। साथै, विभिन्न जातीय समुदायका कलाकारहरूले मौलिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति मार्फत नेपालको आदिवासी विविधतालाई जीवन्त रूपमा प्रस्तुत गर्नेछन्।
भाषा, संस्कृति र अधिकारको साझा आवाज
विश्व आदिवासी दिवसका अवसरमा मातृभाषा संरक्षण, भाषा पत्रकारिता, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा अधिकार, भूमि, पहिचान, समानुपातिक सहभागिता, सामाजिक न्याय तथा संविधान प्रदत्त अधिकारका विषयलाई विशेष प्राथमिकताका साथ उठाइने नेफिनले जनाएको छ।
नेपालमा हाल ५९ मान्यता प्राप्त आदिवासी जनजाति समुदाय रहेका छन्। प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, इतिहास, परम्परा, ज्ञान प्रणाली, चाडपर्व, रीतिरिवाज र मौलिक जीवनशैली रहेको छ। यिनै सम्पदाको संरक्षण र भावी पुस्तामा हस्तान्तरणका लागि विश्व आदिवासी दिवस महत्वपूर्ण अवसर बनेको महासंघको भनाइ छ।
आन्दोलनका उपलब्धि र आगामी प्रतिबद्धता
कार्यक्रममा नेपालका आदिवासी आन्दोलनले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धि, संविधानमा आदिवासी जनजातिको पहिचान, ILO Convention No. 169 तथा संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP) लगायतका विषयमा पनि छलफल गरिनेछ। साथै, अझै प्राप्त हुन बाँकी अधिकारका विषयमा साझा प्रतिबद्धता व्यक्त गरिने कार्यक्रम रहेको छ।
विश्वलाई नेपालको विविधताको सन्देश
नेफिनका पदाधिकारीका अनुसार यस वर्षको कार्यक्रम केवल दिवस मनाउने औपचारिकता होइन, नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई विश्वसामु गौरवका साथ प्रस्तुत गर्ने विशेष अवसर हुनेछ।
खुलामञ्चमा एकै दिन दर्जनौँ जातीय समुदायका सांस्कृतिक झाँकी, मौलिक बाजागाजा, परम्परागत पोशाक र खानाका परिकार प्रदर्शन गरिने भएकाले यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो आदिवासी सांस्कृतिक महोत्सवमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
महासंघले सम्पूर्ण आदिवासी जनजाति समुदाय, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक विविधता, मौलिक सभ्यता तथा आदिवासी जनजातिको पहिचान र अधिकारको साझा अभियानमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।