Skip to main content

Rd Creation

पार्टी समय हेरेर होइन, राष्ट्र र जनताको आवश्यकता हेरेर चल्छ : योगराज खड्का

नेकपा (एमाले) बराहक्षेत्र नगर कमिटी बैठक : संगठन सुदृढीकरण, वडा इन्चार्ज हेरफेर र निर्वाचन तयारीमा जोड

बराहक्षेत्र, साउन ११। नेकपा (एमाले) बराहक्षेत्र नगर कमिटीको बैठकले पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी, वडा इन्चार्जको जिम्मेवारी हेरफेर तथा स्थानीय तहको कार्यसम्पादनलगायत विविध विषयमा विस्तृत छलफल गरेको छ।

बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेश कमिटी सदस्य तथा नेकपा (एमाले) बराहक्षेत्र नगर इन्चार्ज योगराज खड्काले पार्टीका कार्यक्रम असार–साउनजस्ता खेतीपातीका महिनामा सञ्चालन गर्नु हुँदैन भन्ने धारणा गलत रहेको बताउनुभयो।

उहाँले राजनीतिक दल राष्ट्र सञ्चालनको प्रमुख आधार भएकाले कुनै निश्चित महिना वा समयको प्रतीक्षा नगरी राष्ट्र, संगठन र जनताको आवश्यकताअनुसार निरन्तर सक्रिय रहनुपर्ने बताउनुभयो। “पार्टीले गलत निर्णय गरे त्यसको असर देशभर पर्न सक्छ। त्यसैले संगठन र राष्ट्रको आवश्यकताअनुसार पार्टीले जुनसुकै समयमा पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,” उहाँले भन्नुभयो।

खड्काले पार्टीको जागरण अभियानले संगठनभित्र देखिएका कमजोरी, विकृति र विसङ्गतिलाई सुधार्दै कार्यकर्ता तथा आमजनतामा सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

बैठकले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वडा नं. २ मा प्रदीप कार्की, वडा नं. ५ मा पुष्पराज ढुंगाना, वडा नं. ६ मा गजेन्द्र थापा तथा वडा नं. ७ मा परशुराम आचार्यलाई वडा इन्चार्जको जिम्मेवारी प्रदान गरेको नगर सचिव देवेन्द्र बिष्टले जानकारी दिनुभयो।

बैठकमा सहभागी कार्यकर्ताहरूले स्थानीय वडा तथा नगर कमिटीसँग पर्याप्त समन्वय नगरी संगठनात्मक जिम्मेवारी वितरण गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले संगठनात्मक नियुक्ति कार्यकर्ताको योगदान, क्षमता र पार्टीको विधि तथा मापदण्डअनुसार हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै कोशी प्रदेश खेलकुद महासंघका एक सदस्यले आगामी स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी अहिलेबाटै योजनाबद्ध तयारी आवश्यक रहेको बताउनुभयो। समयमै रणनीतिक तयारी गर्न सके आगामी निर्वाचनमा पार्टीले सकारात्मक परिणाम हासिल गर्न सक्ने उहाँको भनाइ थियो।

बैठकका क्रममा केही सहभागीहरूले बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले पार्टीको नीति, निर्देशन र संगठनात्मक मूल्यभन्दा व्यक्तिगत स्वार्थ, नातावाद तथा कृपावाद हाबी भएको आरोप लगाउँदै महिला अधिकार, विकास निर्माण तथा बजेट कार्यान्वयनका विषयमा जनतामाझ स्पष्ट उपलब्धि प्रस्तुत हुन नसकेको टिप्पणी गरेका थिए। यस्ता गतिविधिले पार्टीको छविमा नकारात्मक असर पर्न सक्ने उनीहरूको धारणा थियो।

 

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.