बाङ्गे–चक्रघट्टी सडकमा कल्भर्ट विवादपछि सडक डिभिजनको स्थलगत अनुगमन, जनताको मागअनुसार समाधान खोज्न निर्देशन
बराहक्षेत्र, साउन ११। बराहक्षेत्र नगरपालिका–३ र ६ अन्तर्गत बाङ्गेदेखि चक्रघट्टी जोड्ने मुख्य सडक निर्माण कार्य लामो समयसम्म सम्पन्न हुन नसक्दा स्थानीयवासीको असन्तुष्टि चुलिँदै गएको छ। वर्षायाममा सडक हिलाम्मे, जोखिमपूर्ण र जीर्ण बन्दा दैनिक आवतजावतमा सास्ती हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको भन्दै स्थानीयले तत्काल गुणस्तरीय निर्माण सम्पन्न गर्न माग गरेका छन्।
सडकमा आवश्यक स्थानमा कल्भर्ट निर्माण गर्ने विषयलाई लिएर स्थानीयवासी र निर्माण पक्षबीच विवाद उत्पन्न भएपछि सार्वजनिक बिदाको दिनसमेत सुनसरी डिभिजन सडक कार्यालयका प्राविधिक प्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा स्थानीयले सडकको चौडाइअनुसार पर्याप्त क्षमताको कल्भर्ट निर्माण गर्नुपर्ने, अन्यथा वर्षायाममा पानीको निकास अवरुद्ध भई बस्ती तथा सडक दुवै जोखिममा पर्ने गुनासो राखेका थिए। त्यसपछि प्राविधिक प्रमुखले स्थानीयको आवश्यकता, दीर्घकालीन निकास व्यवस्था र प्राविधिक मापदण्डलाई ध्यानमा राखी कसैलाई अन्याय नपर्ने गरी आवश्यक समाधानसहित निर्माण प्रक्रिया अघि बढाउन ठेकेदार पक्षलाई निर्देशन दिएको स्थानीयले बताएका छन्।
स्थानीयवासीले बराहक्षेत्र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको घर आसपासका सडकमा स्तरोन्नतिको काम भए पनि नगरकै अत्यन्त व्यस्त बाङ्गे–चक्रघट्टी मुख्य सडक वर्षौंदेखि उपेक्षामा परेको आरोप लगाएका छन्। वर्षायाममा अस्थायी रूपमा गिटी–बालुवा हालेर समस्या टार्ने कामले सडक झन् बिग्रिएको र धुलो, हिलो तथा दुर्घटनाको जोखिम बढाएको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार नगर प्रमुखसमक्ष पटक–पटक गुनासो राख्दा पनि अपेक्षित सुनुवाइ हुन सकेको छैन। केही प्राविधिकहरूले कल्भर्ट आवश्यक नरहेको धारणा राखे पनि पुरानो साँघुरो कल्भर्टले अहिलेको पानीको बहाव धान्न नसक्ने उनीहरूको दाबी छ। सडकको चौडाइअनुसार नयाँ तथा पर्याप्त क्षमताको निकास संरचना निर्माण नगरे भविष्यमा सडक भत्किने, डुबान हुने तथा ठूलो क्षति हुन सक्ने चेतावनी स्थानीयले दिएका छन्।
यता निर्माण व्यवसायीले भने आफूहरू सम्झौता, स्वीकृत डिजाइन र सम्बन्धित प्राविधिक निकायको निर्देशनअनुसार मात्रै काम गर्न सक्ने स्पष्ट पारेका छन्।
“हामीले ठेक्का सम्झौताअनुसार काम गरिरहेका छौँ। प्राविधिकबाट जे निर्देशन आउँछ, त्यहीअनुसार निर्माण हुन्छ। स्थानीयको मागका आधारमा आफैं निर्णय गरेर काम गर्न मिल्दैन,” ठेकेदार पक्षले जनाएको छ।
स्थानीयवासीले सडक डिभिजन कार्यालय, बराहक्षेत्र नगरपालिका, जनप्रतिनिधि, प्राविधिक तथा निर्माण व्यवसायीबीच प्रभावकारी समन्वय गरी जनताको आवश्यकता र दीर्घकालीन हितलाई केन्द्रमा राखेर स्थायी समाधान गर्न माग गरेका छन्। उनीहरूले निर्माण कार्यमा भइरहेको ढिलाइ अन्त्य गर्दै गुणस्तरीय र दिगो रूपमा सडक निर्माण सम्पन्न गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षणसमेत गराएका छन्।