सुनसरी, साउन ११। सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउने बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै गर्दा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएका थिए। प्रारम्भमा भनाभनबाट सुरु भएको विवाद ठेलाठेल हुँदै पछि झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा पुगेको प्रहरी टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरे पनि अवस्था नियन्त्रणमा आउन सकेन। त्यसपछि दुवै समुदायका थप व्यक्तिहरू ढुंगा, चिर्पट, बाँस, लाठी तथा अन्य सामग्रीसहित घटनास्थलमा पुगेपछि स्थिति थप तनावपूर्ण बनेको थियो।
झडपका क्रममा कप्तानगञ्ज बजार क्षेत्रमा रहेका केही घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार तथा हवाई फायर गरेको जनाएको छ। त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाइएको प्रहरीको भनाइ छ। गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
यस घटनामा ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि देवानगञ्ज तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।