इनरुवा, साउन ११ — प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) सुनसरीको पाँचौँ जिल्ला अधिवेशन आइतबार सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको छ। अधिवेशनबाट रामकुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

पीपीएलए सुनसरीको आयोजनामा सम्पन्न अधिवेशनमा जिल्लाभरका कानुन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष अम्बर थापाले पाँचवटा मैनबत्ती प्रज्वलन गरी गर्नुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले वर्तमान समयमा लोकतन्त्र र न्यायपालिकामाथि विभिन्न कोणबाट चुनौती सिर्जना भइरहेको उल्लेख गर्नुभयो। न्यायालयमाथिको हस्तक्षेपले कानुन व्यवसायीको पेशामाथि नै असर पर्ने भएकाले सबै कानुन व्यवसायी एकताबद्ध भएर सचेत रहनुपर्ने उहाँको धारणा थियो।
कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष पदमप्रसाद लिम्बु, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण बस्ती, नेपाल बार परिषद्का पूर्व पार्षद प्रेमप्रसाद पोखरेल, बार इकाइ सुनसरीका अध्यक्ष बुद्धिबहादुर कटुवाल तथा नेकपा (एमाले) सुनसरीका सचिव राम कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अधिवेशनका अवसरमा वरिष्ठ कानुन व्यवसायी देवीप्रसाद पोखरेल, शिवराज चौहान, ईश्वरचन्द्र ढुङ्गेलसहित बार इकाइ सुनसरी, पीपीएलएको केन्द्रीय समिति र कोशी प्रदेश समितिका विभिन्न पदाधिकारीलाई सम्मान गरिएको थियो।
अधिवेशनमा संगठनको सांगठनिक तथा लेखा प्रतिवेदन प्रस्तुत गरी छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको पीपीएलए सुनसरीका अध्यक्ष शंकर पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार संगठनले कार्यकालभर सञ्चालन गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनामाथि समेत छलफल गरिएको थियो।
नयाँ कार्यसमिति
अधिवेशनबाट रामकुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
-
अध्यक्ष: रामकुमार साह
-
उपाध्यक्ष: नन्दकुमार दाहाल
-
महिला सचिव: लिला हाङ्स्रोङ
-
सचिव: खेमराज लामिछाने
-
कोषाध्यक्ष: सुकदेव चौधरी
सदस्यहरू: सुजन थापा, शोभा सुवेदी, सोनी साह, दधिराम चौहान, रामनारायण साह, रामबाबु पोखरेल, बालकृष्ण पोखरेल, परशुराम खाँ, लिलाराज काफ्ले, गणेश पोखरेल, नवीन चर्मकार, निता अधिकारी र नगेन्द्र बस्नेत चयन हुनुभएको छ।

अधिवेशनले संगठनलाई थप सुदृढ, सक्रिय र पेशागत अधिकार संरक्षणमा प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।