इनरुवा, साउन १३।
सुनसरी जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा इनरुवा नगरपालिकाभित्र जारी गरिएको निषेधाज्ञा (कर्फ्यु आदेश) का कारण बुधबार (साउन १३ गते) अदालतका सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा एक दिनका लागि बन्द रहने जनाएको छ।

अदालतद्वारा जारी सूचनाअनुसार जिल्ला प्रशासन कार्यालयले साउन १२ गते राति ९:०० बजेदेखि अर्को आदेश नभएसम्म इनरुवा नगरपालिकाभर निषेधाज्ञा लागू गरेपछि सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो।
अदालतले साउन १३ गतेका लागि तोकिएका सबै न्यायिक सुनुवाइ, प्रशासनिक सेवा तथा अन्य नियमित कामकाज स्थगित गरेको जनाएको छ। साथै, सम्बन्धित सबै पक्षलाई सूचनामार्फत जानकारी गराइएको छ।
त्यसैगरी, उक्त दिन अदालतमा उपस्थित हुनुपर्ने म्याद तोकिएका व्यक्तिका हकमा साउन १३ गतेलाई ‘शून्य समय (Excluded Period)’ मानिने अदालतले स्पष्ट गरेको छ। सो दिनका मुद्दा तथा निवेदनसँग सम्बन्धित हदम्याद, म्याद र तारिख निषेधाज्ञा हटेपछि पुनः तोकिने जनाइएको छ।
अदालतले सुरक्षा अवस्थालाई प्राथमिकता दिँदै अर्को सूचना जारी नभएसम्म सम्बन्धित निकायहरूको निर्देशन पालना गर्न तथा सेवाग्राहीलाई अनावश्यक रूपमा अदालत नआउन आग्रह गरेको छ।