Skip to main content

Rd Creation

विराटनगरमा जेसिबी र एम्बुलेन्स ठोक्किँदा पाँच जना घाइते

विराटनगर । विराटनगरमा शुक्रबार राति प्रसूतिका लागि कोसी अस्पतालतर्फ लैजाँदै गरेकी महिला बोकेको एम्बुलेन्स जेसिबीमा ठोक्किदा पाँच जना घाइते भएका छन्।

विराटनगर महानगरपालिका–३ स्थित कोसी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ क २४०३ नम्बरको जेसिबी पूर्वतर्फ मोडिदै गर्दा राति ९ः१५ बजेतिर पछाडिबाट को १ च ४०७३ नम्बरको एम्बुलेन्स ठोक्किएको थियो। जेसिबीमा ठोक्किएर अनियन्त्रित बनेको एम्बुलेन्सले दक्षिणतर्फ नै जाँदै गरेको ३८ प ६०६३ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएर दुर्घटना हुँदा पाँच जना घाइते भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए।

उनका अनुसार दुर्घटनामा परेर प्रसूतिका लागि अस्पताल लग्दै गरिएकी विराटनगर–४ की ३० वर्षीया आस्था बास्तोला, उनका पति ३३ वर्षीय ईश्वर बास्तोला, एम्बुलेन्स चालक विराटनगर–१ का २९ वर्षीय प्रदीप दाहाल घाइते भएका छन्। त्यस्तै स्कुटर चालक विराटनगर–१२ का ४३ वर्षीय पंकज भट्टराई र स्कुटरको पछाडि सवार २४ वर्षीय अमित सरदार पनि घाइते भएको खड्काले बताए।

टाउको, हात, खुट्टा, घुँडा, ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरुको कोसी अस्पताल र विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका सवारी साधन र जेसिबी चालक विराटनगर–३ का २३ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

साभार :- न्यूजलय

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.